मुगुमा सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर र चालक पुरिए, सहचालक घाइते

मुगु:मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा स्काभेटर र त्यसका चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८:३० बजे माथिबाट अचानक सुक्खा पहिरो खसेको थियो।

पहिरोमा परी बा ३ क ३२७६ नम्बरको स्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन्। चालकसहित स्काभेटर पुरिएपछि उनको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

घटनामा स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन्। स्काभेटरबाहिर बसेर ढुङ्गा खस्ने सम्भावनाबारे निगरानी गरिरहेका बेला माथिबाट खसेको ढुङ्गाले लागेर उनको हात र खुट्टामा चोट लागेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार घाइते मल्लको अवस्था सामान्य रहेको छ। उनी कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको कमाण्डमा ७ जना गरी कुल १३ जना प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका छन्।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब ७ किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिममा पर्दछ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सम्बन्धित समाचार