मुगुमा पहिलोपटक ४ करोड रुपैयाँको लगानीमा पेट्रोल पम्प सञ्चालन
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–३, तुम गेरूनीमा जिल्लाकै पहिलो व्यवस्थित निजी पेट्रोल पम्प सञ्चालनमा आएको छ। स्थानीय पर्यटन व्यवसायी नेता प्रसाद चौलागाईंको करिब ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको अनुसा फ्युल सप्लायर्स एन्ड डिस्टिब्युटर्स प्रालि आइतबारदेखि सञ्चालनमा आएको हो।
वि.सं. २०८० कात्तिक १९ गते निर्माण कार्य सुरु गरिएको उक्त पेट्रोल पम्प करिब तीन वर्षपछि सञ्चालनमा आएको हो। पम्पबाट पेट्रोल र डिजेल बिक्री सुरु गरिएको छ। प्राप्त विवरणअनुसार दुवै प्रकारका इन्धन प्रतिलिटर २२० रुपैयाँमा बिक्री भइरहेको छ।
यसअघि मुगुमा व्यापारीहरूले छिटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीयवासी, यातायात व्यवसायी तथा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए। विशेषगरी मोटरसाइकल, जिप, ट्रक तथा स्काभेटर सञ्चालनका लागि आवश्यक इन्धनको अभाव हुँदा यातायात तथा विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका थिए।
पेट्रोल पम्पका सञ्चालक नेता प्रसाद चौलागाईंले जिल्लामा लामो समयदेखि देखिँदै आएको इन्धन अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले लगानी गरेको बताए। उनले स्थानीयवासी, यातायात व्यवसायी तथा रारा घुम्न आउने पर्यटकलाई सहज रूपमा इन्धन उपलब्ध गराउने लक्ष्यसहित पेट्रोल पम्प सञ्चालनमा ल्याइएको जानकारी दिए।
पेट्रोल पम्प सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यातायात व्यवसायीलाई इन्धन भर्न सहज हुने र रारा भ्रमणमा आउने पर्यटकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ। दुर्गम हिमाली जिल्ला मुगुमा निजी क्षेत्रको लगानीमा व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आउनुलाई यातायात, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।








