सुविधासम्पन्न विद्यालय भवन र शौचालय निर्माणपछि शिक्षामा सुधार आउने अपेक्षा

मुगु :जाजरकोटको अति विकट मानिने कुशे गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, समकोटमा सुविधासम्पन्न विद्यालय भवन, शौचालय तथा खेलमैदान निर्माण गरी हस्तान्तरण गरिएपछि विद्यार्थी, अभिभावक र शिक्षक उत्साहित भएका छन्। नयाँ पूर्वाधार निर्माणसँगै विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।छाँया नेपाल र कुशे गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयका लागि दुईतले चारकोठे भवन, विद्युत्, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय र खेलमैदान निर्माण गरिएको हो।

वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालय राज्यको पहुँचबाट लामो समयसम्म टाढा रहेकाले पर्याप्त कक्षाकोठा, शौचालय तथा खेलमैदानको अभावमा सञ्चालन हुँदै आएको थियो। कक्षाकोठा पर्याप्त नहुँदा संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता थियो। वर्षायाममा पानी चुहिने तथा हावाहुरी चल्दा विद्यालय नै बन्द गरेर विद्यार्थीलाई घर पठाउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।

शौचालयको सुविधा नहुँदा विद्यार्थीले खेतबारी तथा खुला स्थानमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको थियो। अहिले सुविधासम्पन्न भवन, डेस्क–बेन्च तथा शौचालय निर्माण भएपछि पढाइसँगै विद्यार्थीको स्वास्थ्य र सरसफाइमा समेत सुधार आउने विद्यार्थीहरू बताउँछन्।

कक्षा ९ मा अध्ययनरत हिमाल शाहीले नयाँ भवन तथा शौचालय निर्माण भएपछि आफूहरू निकै खुसी भएको बताए। “पहिले कक्षाकोठा र शौचालयको अभावमा धेरै समस्या हुन्थ्यो। अहिले सुविधासम्पन्न भवन, डेस्क–बेन्च र शौचालय बनेपछि पढाइमा सहज हुनुका साथै स्वास्थ्य र सरसफाइमा पनि सुधार आउने विश्वास छ,” उनले भने।

विद्यालयका प्रधानाध्यापक रामबहादुर शाहीका अनुसार छाँया नेपालले ७० लाख ६३ हजार १ सय ३८ रुपैयाँ र कुशे गाउँपालिकाले १९ लाख २८ हजार ५ सय रुपैयाँ गरी कुल ८९ लाख ९१ हजार ६ सय ३८ रुपैयाँको लागतमा विद्यालयका विभिन्न पूर्वाधार निर्माण गरेको हो।

नयाँ पूर्वाधार निर्माण भएपछि विद्यालयमा अध्ययनरत ३ सय ५४ जना विद्यार्थीलाई कक्षाकोठा प्रयोग गर्न सहज हुने प्रधानाध्यापक शाहीले बताए। उनका अनुसार भवन तथा अन्य पूर्वाधारको अभावका कारण विगतमा पठनपाठनमा समस्या हुँदै आएको थियो।

छाँया नेपालले जाजरकोटलगायत देशका विभिन्न जिल्लामा छाँया लिक्टेनस्टाइन र छाँया अस्ट्रियाको आर्थिक सहयोग तथा छाँया नेपाल काठमाडौंको सहकार्यमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

कुशे गाउँपालिका–४ स्थित उक्त विद्यालयमा कक्षाकोठा, शौचालय र खेलमैदानको आवश्यकता रहेको भन्दै स्थानीय सरकारको आग्रहमा विद्यालयको शैक्षिक तथा स्वास्थ्य वातावरण सुधार गर्न पूर्वाधार निर्माण गरिएको छाँया नेपाल कर्णाली प्रदेशका प्रबन्धक मिनबहादुर रावलले बताए।

“विद्यालयमा आवश्यक पूर्वाधारको अभाव रहेको जानकारी पाएपछि स्थानीय सरकारको आग्रहअनुसार विद्यालय भवन, शौचालय र खेलमैदान निर्माण गरी हस्तान्तरण गरेका हौँ। यसबाट विद्यार्थीको पठनपाठनसँगै स्वास्थ्य र सरसफाइमा समेत सुधार आउने अपेक्षा गरेका छौँ,” रावलले भने।