नगर स्तरीय ज्येष्ठ नागरिक, अपाङ्गता र बालसञ्जालका लागि संयुक्त कार्यालय स्थापना

जुम्ला :चन्दननाथ नगरपालिका–४ को वडा कार्यालय भवनमा नगरस्तरीय ज्येष्ठ नागरिक समिति, अपाङ्गता सञ्जाल र नगर बालसेवा सञ्जालका लागि संयुक्त कार्यालय स्थापना गरिएको छ। यसअघि तीनवटै समिति कार्यालय थिएन ।अब चन्दननाथ नगरपालिका–४ को वडा कार्यालय भवनको दोस्रो तलामा रहने भएका छन्। कार्यालय स्थापनाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकासँग सम्बन्धित सेवा,अधिकार र पैरवीका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
कार्यालय स्थापना कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले कार्यालय रहेको जग्गा जिल्ला समन्वय समितिको गेस्ट हाउसका लागि प्रयोग हुँदै आएको बताउँदै स्थानीय तहका कार्यालय तथा सामाजिक संस्थाका गतिविधिका लागि संरचनाको सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले स्थानीय सरकारले संस्थागत रूपमा बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको अधिकार स्थापना तथा संरक्षणका लागि गर्नुपर्ने काम भएको बताए। समाजका अगुवा तथा जिम्मेवार व्यक्तिले आफ्नो भूमिकाको दुरुपयोग नगरी सामाजिक समस्या समाधानमा अग्रसर हुन उनले सुझाव दिए । स्थानीय सरकारले समाजमा आइपर्ने समस्याको समाधानका लागि प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो।
नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष मिनबहादुर डाँगीले तीनवटै समिति तथा सञ्जालका लागि कार्यालय स्थापना हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले कार्यालय स्थापनाका लागि सहयोग गर्ने चन्दननाथ नगरपालिका–४ सहित कार्यक्रममा सहभागी अतिथि तथा सरोकारवालाप्रति आभार व्यक्त गरे। अपाङ्गता सञ्जालका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले आफ्नै कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको भन्दै अब अपाङ्गता भएका व्यक्तिलाई सेवा दिन सहज हुने बताए।
कार्यालय स्थापना भएपछि अपाङ्गता भएका व्यक्तिका अधिकार र सेवाका विषयमा थप प्रभावकारी रूपमा काम गर्न सकिने उनको भनाइ थियो। नगरस्तरीय ज्येष्ठ नागरिक समितिका सचिव देवी बुढ्थापाले नगरभित्रका ज्येष्ठ नागरिकको अवस्था, कार्यालय स्थापनाको प्रक्रिया तथा चन्दननाथ नगरपालिकाका १० वटै वडामा ज्येष्ठ नागरिकसम्बन्धी अधिवेशन सम्पन्न भएकोलगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरे।
त्यस्तै, बालबालिकाको तर्फबाट बालसेवा सञ्जालकी सचिव मनिषा परियारले बालबालिकाको हक, अधिकार र संरक्षणका क्षेत्रमा सञ्जालले गर्दै आएको कामबारे जानकारी दिइन्। उनले आगामी दिनमा बालबालिकाका अधिकारका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सर्प नन्द हमालले तीनवटै समिति तथा सञ्जाल जुन उद्देश्यका साथ स्थापना भएका हुन्, सोहीअनुसार प्रभावकारी रूपमा काम गर्न सुझाव दिए।
ब्रह्माकुमारी विश्वविद्यालयकी सपना दिदीले कार्यालय स्थापना हुनु मात्र पर्याप्त नभई यसको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन्। उनले ज्येष्ठ नागरिकले नयाँ पुस्तालाई ज्ञान, अनुभव, नैतिकता र संस्कार हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन्। ज्येष्ठ नागरिकले आत्मचिन्तन र सकारात्मक अभ्यासमार्फत समाजलाई मार्गदर्शन गर्न सक्ने उनको भनाइ थियो। अपाङ्गता भएका व्यक्तिका विषयमा उनले शारीरिक अपाङ्गताभन्दा सोच र चेतनाको सकारात्मक विकास महत्वपूर्ण हुने धारणा व्यक्त गरिन्।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैसीले तीनवटै समिति तथा सञ्जाललाई कार्यालय स्थापनाका लागि बधाई दिँदै ज्येष्ठ नागरिक समाजका अनुभव, सीप, ज्ञान र कर्मको इतिहास बोकेका महत्वपूर्ण व्यक्ति भएको बताए। ज्येष्ठ नागरिकको सक्रियताले युवापुस्तामा समेत सकारात्मक जागरण ल्याउन सहयोग पुगेको उनको भनाइ थियो।
अपाङ्ग पुनःस्थापना सेवा केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका सवालमा राज्यका निकाय अझ जिम्मेवार हुनुपर्ने बताए। उनले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि सिटको व्यवस्था, सम्मानजनक सहभागिता तथा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे।
चन्दननाथ नगरपालिका–५ का वडा अध्यक्ष बृर्खबहादुर कार्कीले नागरिकले आफ्नो अधिकारका विषयमा जानकारी राख्दै अधिकार प्राप्तिका लागि निरन्तर बहस र पैरवी गर्नुपर्ने बताए। वडा नं. ४ ले उपलब्ध गराएको कार्यालयलाई प्रभावकारी रूपमा उपयोग गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको अधिकारका लागि काम गर्नुपर्ने उनको भनाइ थियो।
चन्दननाथ नगरपालिका–४ का वडा अध्यक्ष नवराज देवकोटाले आफ्नो वडा कार्यालयसँगै ज्येष्ठ नागरिक समिति, बालसञ्जाल र अपाङ्गता सञ्जालका लागि कार्यालय स्थापना गर्न सफल भएको बताए। उपलब्ध कार्यालयको उचित र प्रभावकारी सदुपयोग गर्न उनले सम्बन्धित समितिलाई आग्रह गरे। ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सेवा स्थानीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकाले यस विषयमा काम गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको उनले बताए।
कार्यालय स्थापनासँगै तीनवटै समिति तथा सञ्जालले अब एउटै स्थानबाट आफ्ना गतिविधि सञ्चालन गर्ने भएका छन्। यसले लक्षित वर्गका लागि सेवा, समन्वय, पैरवी तथा अधिकारसम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम नगरस्तरीय ज्येष्ठ नागरिक समिति जुम्ला, अपाङ्गता सञ्जाल र नगर बालसेवा सञ्जालको आयोजना तथा चन्दननाथ नगरपालिकाको सहयोगमा आयोजना गरिएको हो।








