महिला तथा किशोरीका सवाललाई प्राथमिकताका साथ उठाउँछौँ :उपसभामुख न्यौपाने
जुम्ला: कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले महिला, बालबालिका तथा लक्षित वर्गका सवालमा उठाइएका नीति तथा कानुनी विषयलाई आफूले सधैँ प्राथमिकताका साथ ग्रहण गर्ने बताएकी छन्। सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल), जुम्लाको २०औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उपसभामुख न्यौपानेले संस्थाले दुई दशकदेखि महिला तथा किशोरीको सशक्तीकरणका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिन्।
उनले जुम्लामा स्थापना भएर २० वर्षको यात्रा पूरा गर्दै महिला तथा किशोरीको सशक्तीकरणमा निरन्तर काम गरेकोमा सर्वोदय नेपाललाई धन्यवाद तथा शुभकामना व्यक्त गरिन्। महिला तथा किशोरीका सवालमा कार्यक्रममा उठाइएका विषयलाई आफूले जिम्मेवारीपूर्वक लिएको भन्दै उनले साझा विकासका मुद्दामा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।महिला, बालबालिका लगायत लक्षित वर्गका लागि उठाइएका सवाललाई सधैँ ग्रहण गर्नेछु,” उपसभामुख न्यौपानेले भनिन्, “यहाँहरूले दिएको न्यानो आतिथ्यताले थप प्रेरणा मिलेको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सर्वोदय नेपालले महिलाको जीवनयापन सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। संस्थाले महिला तथा किशोरीमैत्री क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै उनले स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।

हिमा गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले स्थानीय सरकारका सहयोगीका रूपमा सर्वोदय नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै साधारण सभा तथा सामाजिक परीक्षणको सफलताको शुभकामना दिए। महिला, बालबालिका तथा समुदायका सवाल समाधान गर्न सबै पक्ष साझा रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले सर्वोदय नेपालका कार्यक्रमका कारण महिलाको नेतृत्व तथा सहभागितामा सकारात्मक परिवर्तन आएको बताइन्। उनले संस्थाका कार्यक्रम आगामी दिनमा जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिइन्।
दुई दशक सम्मा यस संस्थाले महिला तथा किशोरी सशक्तीकरणमा केन्द्रित काम गरेको सर्वोदय नेपालकी कोषाध्यक्ष मेनका रेग्मीले बताइन । उनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जुम्लाका विभिन्न स्थानीय तहमा महिला तथा किशोरीको उत्थान, नेतृत्व विकास, शिक्षा, जीविकोपार्जन र सामाजिक सचेतनाका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन्।
त्यस्तै संस्थाका कार्यकारी निर्देशक कमलराज खत्रीले स्थापना कालदेखि हालसम्म संस्थाले गरेका गतिविधि प्रस्तुत गर्दै कशोरी, महिला तथा बालबालिका, जलवायु परिवर्तन, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा कर्णाली प्रदेशभर काम गरिएको बताए। उनले आगामी दिनमा संस्थाको कार्यक्षेत्र विस्तार गर्दै दीर्घकालीन योजनाअनुसार कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले महिला बालबालिकालाई माथि उठाउनका लागी हाम्रो साझा प्रतिबद्धता रहेको बताईन ।उनका अनुसार दुरदराजका महिला बालबालिकालाई हिंसा रहित बनाउन ग्रामीण भेगमा संस्थाहरुका कार्यक्रम थप प्रभाबकारी गर्नु पर्ने बताईन।उनले स्थानीय सरकार र संस्थाले मानव अधिकारको प्रत्याभूति हुने हिसावले काम गर्न अनुरोध गरिन ।नागरिकका स्वास्थ शिक्षा लगायतका हकहितका लागी राष्ट्रिय मानव अधिकार आयोग संग संगै रहने उनको दाबी छ।
त्यस्तै सर्वोदय नेपाल संस्थाकी अध्यक्ष नारायणी चौलागाईंले संस्थाले प्राप्त सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी कार्यदिशा तय गर्ने बताइन्। उनले संस्था स्थापनादेखि हालसम्म सहयोग गर्ने सरकारी, गैरसरकारी तथा विकास साझेदारप्रति आभार व्यक्त गरिन्।
सर्वोदय नेपालले प्रस्तुत गरेको विवरण अनुसार हाल सम्म हजारौँ व्यक्ति तथा परिवार लाभान्वित भएको बताइएको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा महिला, बालिका, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायका महिला तथा पुरुषको क्षमता अभिवृद्धि गरिएको छ।
आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनतर्फ आयआर्जन तथा जीविकोपार्जनमा सहयोग गरिएको र संकट सामना गर्ने क्षमता अभिवृद्धि गरिएको संस्थाले जनाएको छ।

जलवायु परिवर्तन तथा लैंगिक न्यायसंगत पुनरुत्थानका क्षेत्रमा व्यक्तिको क्षमता अभिवृद्धि गरिएको छ। स्वास्थ्य, सरसफाइ तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गरिएको छ । भने संस्थाले छाउपडी लगायत हानिकारक अभ्यासविरुद्ध अभियान, महिला सशक्तीकरण तथा दिगो विकास, महिला तथा किशोरीको आर्थिक–सामाजिक परिवर्तन, किशोरी शिक्षाको गुणस्तर वृद्धि, महिला नेतृत्व विकास तथा सम्भावित उम्मेदवारका लागि नेतृत्व विकासलगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
सर्वोदय नेपालले जुम्लासहित कालीकोट, दैलेख, अछाम, लमजुङ, रुपन्देही र तेह्रथुमलगायतका जिल्लामा विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। संस्थाले तिला, तातोपानी, पातारासी, गुठीचौर, कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकालगायत स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्दै आएको छ। कार्यक्रममा किशोरी क्लब तथा आमा समूहका प्रतिनिधिले लैंगिक समानता, सामाजिक कुरीति, महिला हिंसा, किशोरी शिक्षा तथा महिला सशक्तीकरणका सवाल उठाएका थिए। सहभागीहरूले महिला तथा किशोरीमाथि हुने हिंसा र विभेद अन्त्यका लागि परिवार, समुदाय, स्थानीय सरकार तथा सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेको बताएका थिए।

सर्वोदय नेपाल जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६२ साल पुस २५ गते दर्ता भई स्थापना भएको सामाजिक संस्था हो। संस्थाले लैंगिक समानता, सामाजिक समावेशीकरण, लैंगिक हिंसा न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, खाद्य सुरक्षा, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा संस्थागत सुदृढीकरणलाई प्रमुख कार्यक्षेत्र बनाउँदै आएको जनाएको छ।









