२० दिनदेखि मुगुको झ्यारी–ताल्चा सडक ठप्प, अत्यावश्यक सामग्रीको अभाव

 मुगु :अविरल वर्षासँगै गएको पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र नाग्म–गमगढी सडकखण्ड  २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र भौगोलिक विकटताका कारण पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क प्रभावित भएको हो।

लामो समयदेखि यातायात ठप्प हुँदा जिल्ला सदरमुकाम गमगढीसहित ग्रामीण क्षेत्रमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री र औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ। सडक अवरुद्ध भएपछि सुर्खेत र नेपालगञ्जबाट दैनिक उपभोग्य तथा निर्माण सामग्री बोकेर मुगुतर्फ आएका सयौँ मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

राजापुरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बोकेर आएका नौवटा गाडीसहित स्थानीय व्यापारीका सवारीसाधन झ्यारी खोला र ताल्चाको बीचमा अलपत्र परेका छन्। हप्तौँदेखि सडकमा रोकिएका चालक तथा सहचालक छाप्रो र सडकमै रात बिताउन बाध्य भएका छन्।

खाद्यान्न तथा अन्य सामग्रीको ढुवानी हुन नसक्दा सदरमुकाम गमगढीका अधिकांश पसल तथा होटलमा ग्यास सिलिन्डर र खाद्यान्नको अभाव हुन थालेको स्थानीय व्यापारीले बताएका छन्। यसले सर्वसाधारणको दैनिक जनजीवन र भान्सासमेत प्रभावित भएको छ।

सडक निर्माण तथा स्तरोन्नतिका क्रममा ठेकेदारले जथाभावी ‘डबल कटिङ’ गर्दा पहाड कमजोर भई पहिरो गएको स्थानीयको आरोप छ। जथाभावी डोजर सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै आसपासका घरजग्गा र बस्तीसमेत उच्च जोखिममा परेको उनीहरूको भनाइ छ।

झ्यारीका स्थानीय नरेन्द्रबहादुर शाहीका अनुसार जथाभावी सडक खन्दा गएको पहिरोले घरजग्गा बगाएपछि उनको छ जनाको परिवार बिचल्लीमा परेको छ। एकातिर स्थानीयवासी घरबारविहीन हुने अवस्था सिर्जना भएको छ भने अर्कोतिर लामो समयसम्म सडक नखुल्दा सर्वसाधारण र व्यवसायी थप समस्यामा परेका छन्।

स्थानीयले सडक डिभिजन तथा प्रशासनले समयमै पर्याप्त मेसिन र जनशक्ति परिचालन गरी पहिरो हटाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यसैबीच, मुगुबाट बाहिर निकासीको तयारीमा रहेको अर्गानिक स्याउसमेत सडक अवरुद्ध हुँदा बाटोमै कुहिन थालेको छ। यसबाट किसान तथा व्यापारी ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन्। जिल्लाबाट बाहिर पठाउने तयारीमा रहेको करिब २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ सडकमा रोकिएर कुहिन थालेको व्यापारी कर्णबहादुर बुढाले बताए। गाडीमै स्याउ कुहिएर गन्हाउन थालेपछि लाखौँ रुपैयाँको क्षति हुने अवस्था आएको उनको भनाइ छ।

यता, नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाका प्रमुख नन्दराज गिरीले निरन्तरको वर्षा, जटिल भौगोलिक अवस्था र ठेकेदारको ढिलासुस्तीका कारण सडक खुलाउन केही ढिलाइ भएको बताए। जोखिमयुक्त स्थानमा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेको र मौसमले साथ दिएमा आगामी केही दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए।

स्थानीयवासी तथा सवारी चालकहरूले सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र प्रदेश सरकारले तत्काल समन्वय गरी पर्याप्त भारी उपकरण तथा जनशक्ति परिचालन गरेर सडक खुलाउन माग गरेका छन्। लामो समयसम्म सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएकाले तत्काल वैकल्पिक व्यवस्था गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार