कनकासुन्दरी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढे
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ लुम, बुढु, गोठेलवाडा र ओखरपाटा गाउँमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने लगायतका लक्षण भएका बिरामीको संख्या बढ्दै गएको छ।
गाउँमा पछिल्लो समय एउटै प्रकृतिका स्वास्थ्य समस्या भएका बिरामी बढ्न थालेपछि स्थानीय चिन्तित भएका छन्। विशेषगरी ज्येष्ठ नागरिकहरूमा यस्तो समस्या बढी देखिएको बताइएको छ।
यता कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाका अनुसार देवता पुज्ने पनिहरु आएपछि भिडभाड र चिसो लगायतका कारणले गाउँमा बिरामीको संख्या अझ बढेको जानकारी आएको छ। हाल प्रभावित गाउँहरूमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरी उपचार सेवा प्रदान भइरहेको उनले बताए।
स्वास्थ्य शाखा प्रमुख बुढाले अहिले गाउँमा भाइरल ज्वरोका बिरामी बढी देखिएको बताए। अन्य गाउँमा यसअघि नै स्वास्थ्यकर्मी परिचालन गरी उपचार भइरहेको र ओखरपाटा गाउँमा भने बुधबार देखि स्वास्थ्यकर्मीसहितको टोली पठाएर उपचार सुरु गरिएको उनको भनाइ छ।
बिरामीको संख्या बढ्दै गएपछि स्थानीय सरकारले औषधि तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गरी प्रभावकारी उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ।
स्वास्थ्यमा समस्या देखिएका व्यक्तिले समयमै स्वास्थ्य संस्था पुगेर जाँच तथा उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै, व्यक्तिगत सरसफाइमा ध्यान दिन, सफा तथा सुरक्षित पानी पिउन, पर्याप्त आराम गर्न र ज्वरो, खोकीलगायतका लक्षण बढ्दै गएमा तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सुझाव दिइएको छ।
गाउँमा बिरामीको संख्या बढिरहेको अवस्थामा स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायले स्वास्थ्य अवस्थाको थप निगरानी गरी आवश्यक औषधि, जनशक्ति र उपचारको व्यवस्था समयमै गर्नुपर्ने आवश्यकता देखिएको छ।









