हेलो सरकारमा गुनासोपछि ६१ वर्षीया कुन्जोमले घरमै पाइन् नागरिकता

मुगु ःनेपाल सरकारको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ मा निवेदन परेपछि मुगुकी ६१ वर्षीया एक महिलाले ६ दशकभन्दा बढी समयपछि घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी छन्।

मुगुम कार्मारोङ गाउँपालिका–८, माग्री गाउँकी ६१ वर्षीया कुन्जोम पाल्पु तामाङ जन्मेदेखि नै नागरिकताविहीन थिइन्। नागरिकता नहुँदा उनी राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा, अपाङ्गता परिचयपत्र, स्वास्थ्य तथा शिक्षालगायत आधारभूत सेवा–सुविधाबाट वञ्चित हुँदै आएकी थिइन्।

कुन्जोमले नागरिकता नपाएको विषयमा ‘हेलो सरकार’ मा गुनासो परेपछि जिल्ला प्रशासन कार्यालय मुगुले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा आइतबार प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुको टोली एक दिन पैदल यात्रा गरेर माग्री गाउँस्थित कुन्जोमको घरमै पुगेको हो। टोलीले उनलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान गरेको छ।

शारीरिक रूपमा अशक्त कुन्जोमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ। घरमा आमा–बुबा नभएपछि उनी ६५ वर्षभन्दा बढी उमेरका दाजु याङ्गेप लामाको सहारामा जीवन बिताउँदै आएकी छन्। दाजुको देब्रे आँखासमेत कमजोर छ। हालसम्म दाजुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाटै दुवै जनाको गुजारा चल्दै आएको थियो।

घरमा सम्पत्तिका नाममा एकतले सानो घर, प्लास्टिकका दुई–चार वटा खानेपानीका भाँडा, एउटा सानो कराही र दुई वटा भात पकाउने ताउला मात्र रहेको छ। गर्मीको समयमा घरमा बस्न केही सहज भए पनि हिउँदमा अत्यधिक चिसो हुने भएकाले उनीहरू दाउराको भरमा रात बिताउँदै आएका छन्।

गाउँमा नागरिकता बनाउने टोली यसअघि पुगेका बेला कुन्जोमका बुबाले ‘छोरी मान्छे, त्यसमाथि बोल्न र सुन्न नसक्ने भएकाले नागरिकता बनाएर के गर्ने?’ भन्ने सोच राखेकाले उनको नागरिकता बन्न सकेको थिएन। बुबा–आमाको निधनपछि दुई दाजु–बहिनी मात्रै घरमा बस्दै आएका थिए।

नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै दाजु याङ्गेप लामाले नागरिकता नहुँदा बहिनी सरकारबाट प्राप्त हुने विभिन्न सेवाबाट वञ्चित हुँदै आएको बताए। “अब नागरिकता बन्यो, बहिनीले पनि सरकारले दिने सेवा–सुविधा पाउने भइन्,” उनले भने।

स्थानीय छिमेकी सेरोप कामीका अनुसार अशक्त बहिनी र वृद्ध दाजुलाई बिहान–बेलुका खान र बस्नसमेत समस्या छ। अब नागरिकता बनेपछि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तालगायत सुविधाले उनीहरूको जीवनयापनमा ठूलो राहत पुग्ने उनले बताए।

मुगुम कार्मारोङ गाउँपालिका–८ का वडाध्यक्ष पेमा टोन्डुल लामाका अनुसार वडा कार्यालयको समन्वयमा नागरिकता बनाउन आवश्यक कागजात र सिफारिस तयार पारिएको थियो। तर ६० वर्ष नाघेकी अशक्त महिलालाई बोकेर जिल्ला सदरमुकाम गमगढी लैजान सक्ने अवस्था नहुँदा नागरिकता बनाउन ढिलाइ भएको हो।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले नागरिकता बनाउन गमगढी आउजाउ गर्न लाग्ने खर्चसमेत स्थानीय तहबाट उपलब्ध गराउने प्रतिबद्धतासहित पटक–पटक पहल गरिएको बताए। प्रशासन कार्यालयसँगको समन्वयमा प्रमुख जिल्ला अधिकारीको टोली गाउँमै पुगेर नागरिकता प्रदान गरेपछि अब कुन्जोमले राज्यबाट प्राप्त हुने सेवा–सुविधा सहज रूपमा पाउने उनले बताए।

नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गरेसँगै कुन्जोमको राज्यका सेवा–सुविधामा पहुँच स्थापित भएको छ। दुर्गम क्षेत्रमा बसोबास गर्ने अशक्त तथा कागजातविहीन नागरिकलाई राज्यका सेवा–सुविधाको पहुँचमा ल्याउन जिल्ला प्रशासन कार्यालय मुगु प्रतिबद्ध रहेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

सम्बन्धित समाचार