रारा विमानस्थलको निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

मुगु :रारा विमानस्थलको निर्माणाधीन टर्मिनल भवनको शौचालयका लागि बनाइएको सेफ्टी ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर एक ११ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका ४, ताल्चाका जयबहादुर भामका ११ वर्षीय छोरा गौरव भाम रहेका छन्। निर्माणाधीन शौचालयको करिब १४ फिट गहिरो सेफ्टी ट्यांकीमा जम्मा भएको पानीमा पौडी खेल्ने क्रममा बालक डुबेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः४० बजे सेफ्टी ट्यांकी नजिकै बालकका लुगा र चप्पल देखेपछि स्थानीयले विमानस्थलका सुरक्षा गार्डलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै सहायक प्रहरी निरीक्षक बिर्खराज गुरुङको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयले ट्यांकीमा जम्मा भएको पानी बाहिर निकालेपछि बालकलाई मृत अवस्थामा फेला पारेका थिए।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।

यसैबीच, मृतक बालकका आफन्त तथा विमानस्थल आसपासका होटल व्यवसायीहरूले निर्माणाधीन टर्मिनल भवनको कामको जिम्मा लिएको ठेकेदार पक्षको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्। विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन सेफ्टी ट्यांकी खुला छाडिएको तथा त्यसको वरिपरि घेरबार र जोखिमबारे जानकारी दिने कुनै संकेत नराखिएको उनीहरूको भनाइ छ।

मृतकका आफन्त बाच्याँ महतारका अनुसार करिब १० दिनअघि पनि तीन जना बालबालिका सोही खाल्डोमा पौडी खेल्न गएका थिए। त्यसमध्ये एक बालक डुब्न थालेपछि नेपालगन्ज जाने तयारीमा रहेका यात्रु अशोक खत्रीले खाल्डोमा हामफालेर उनको उद्धार गरेका थिए।

उद्धारका क्रममा खत्रीको करिब ७० हजार रुपैयाँ नगद पानीले भिज्नुका साथै करिब ९० हजार रुपैयाँ पर्ने मोबाइल फोनसमेत बिग्रिएको आफन्तले बताएका छन्। त्यस घटनापछि पनि निर्माणस्थलमा आवश्यक सुरक्षा व्यवस्था नगरिँदा अहिले बालकको ज्यान गएको स्थानीयको आरोप छ।

टर्मिनल भवन निर्माणको जिम्मा ओम बुद्ध इन्टरनेशनल प्रालिले लिएको बताउँदै आफन्तहरूले निर्माणस्थलमा आवश्यक सुरक्षा प्रबन्ध नगरेको आरोप लगाएका छन्। उनीहरूले बालकको मृत्युको जिम्मेवारी ठेकेदार पक्षले लिनुपर्ने माग गरेका छन्।

ठेकेदार पक्ष घटनाको जिम्मेवारीबाट पन्छिन खोजे विमानस्थलमा हुने उडानसमेत रोक्ने र बालकको शव नबुझ्ने चेतावनी परिवार तथा आफन्तले दिएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा निर्माणस्थलमा तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार