प्रतिष्ठानको शैक्षिक भवन बत्तीविहीन, गर्भवतीको भिडियो एक्सरेमा झन्झट, सरोकारवाला भने रमिते

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको छ। विद्युत् अवरुद्ध भएको लामो समय बितिसक्दा पनि समस्या समाधानका लागि प्रभावकारी पहल नभएको विद्यार्थीको गुनासो छ।

प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थीले नाम नबताउने सर्तमा भने, “हामी ठूलो खर्च गरेर अध्ययनका लागि यहाँ आएका छौँ। तर शैक्षिक भवनमा तीन दिनसम्म बत्ती नआउँदा पनि समस्या समाधानका लागि तत्काल पहल भएको देखिँदैन। यसले कक्षाको पढाइ नै प्रभावित भएको छ।

शैक्षिक भवनमा विद्युत् अवरोधका कारण कक्षाकोठामा हुने नियमित पठनपाठनसँगै विद्युत्मा निर्भर शैक्षिक गतिविधिसमेत प्रभावित भएको विद्यार्थीको भनाइ छ। लामो समयसम्म समस्या समाधान नहुँदा प्रतिष्ठानको व्यवस्थापकीय क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ।

गर्भवतीलाई भिडियो एक्सरेमा सास्ती

यसैबीच, प्रतिष्ठानमा उपचारका लागि आउने गर्भवती महिलाले समेत समयमै भिडियो एक्सरे सेवा नपाएको गुनासो गरेका छन्। सात–आठ महिनाका गर्भवतीसमेत भिडियो एक्सरे गराउन जाँदा चिकित्सक अभावको कारण देखाउँदै फर्काउने गरिएको उनीहरूको गुनासो छ।

एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा भनिन्, “गर्भवती अवस्थामा नियमित जाँच आवश्यक हुन्छ। तर भिडियो एक्सरे गराउन जाँदा डाक्टर नभएको भन्दै फर्काइन्छ। कहिले पालो कुर्नुपर्ने, कहिले अर्को दिन आउनुपर्ने अवस्था छ।

प्रतिष्ठानमा उपचार तथा जाँचका लागि आउने बिरामीले गुनासो गरेपछि पनि समस्या समाधानमा ढिलासुस्ती हुने गरेको उनीहरूको आरोप छ। गुनासो गर्दा उल्टै समस्या पर्न सक्ने भन्दै कतिपय सेवाग्राहीले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्।

ठेकेदारले बत्ती जोड्न अटेरी गर्‍यो

प्रतिष्ठानका प्रशासन प्रमुख दानबहादुर शाहीले भने शैक्षिक भवनको विद्युत् समस्या समाधान गर्न आफूहरू लागिरहेको बताएका छन्। उनका अनुसार भवन निर्माणको ठेक्का लिएको पक्षले आफ्नो सामग्रीमा क्षति पुग्ने भन्दै विद्युत् जडान गर्न अटेरी गरेका कारण समस्या आएको हो।

“ठेकेदारले आफ्ना सामग्रीमा क्षति पुग्ने भन्दै बत्ती जोड्न मानेको छैन। हामी समस्या समाधानका लागि पहल गरिरहेका छौँ,” प्रशासन प्रमुख शाहीले भने। उनका अनुसार प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान  म्यानङ्गबो र निमित्त निर्देशक डा. विनम्र बिष्ट जिल्ला बाहिर रहेकाले तत्काल समन्वयमा समेत कठिनाइ भएको छ।

एक जना चिकित्सकमाथि अत्यधिक चाप

भिडियो एक्सरे सेवाका विषयमा प्रशासन प्रमुख शाहीले प्रतिष्ठानमा भिडियो एक्सरे सेवा हेर्ने चिकित्सक एक जना मात्र रहेको बताए। उनका अनुसार उपलब्ध जनशक्तिबाट पालो प्रणालीमार्फत सेवा दिइँदै आएको छ।

“एक जना डाक्टरबाट दैनिक ३० देखि ३५ वटा जाँचसम्म गर्न सकिने अवस्था छ। तर दैनिक ५० जनाभन्दा बढी गर्भवती सेवा लिन आउने गरेका छन्। एक जना चिकित्सकमाथि धेरै चाप छ,” उनले भने। उनले समस्या समाधानका लागि काम भइरहेको दाबी गरे पनि पर्याप्त जनशक्ति नहुँदा सेवाग्राहीले भने सास्ती खेप्नुपरेको देखिन्छ।

प्रतिष्ठानका निमित्त निर्देशक डा. विनम्र बिष्टसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। त्यस्तै, प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान म्यानङ्बोलाई पटक–पटक फोन सम्पर्क गर्दा समेत उनले फोन उठाएनन्। प्रतिष्ठानको सेवा प्रवाह र व्यवस्थापनबारे उठेका गुनासोमा सम्बन्धित पदाधिकारीबाट स्पष्ट धारणा आउन सकेको छैन।

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले प्रतिष्ठानमा देखिएको विद्युत् तथा स्वास्थ्य सेवासम्बन्धी समस्याबारे बुझेर समाधानका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने बताए।

कर्णालीको प्रमुख स्वास्थ्य शिक्षण संस्थाका रूपमा स्थापित प्रतिष्ठानमा शैक्षिक भवनमै तीन दिनसम्म विद्युत् अवरुद्ध हुनु र गर्भवतीजस्ता संवेदनशील सेवाग्राहीले आवश्यक जाँचका लागि सहज सेवा नपाउनु सामान्य विषय नभएको स्थानीयको भनाइ छ।

प्रतिष्ठानमा समय,समयमा पदाधिकारी तथा नेतृत्व परिवर्तन भए पनि सेवाग्राहीका आधारभूत गुनासा भने उस्तै रहने गरेको आरोप लाग्दै आएको छ। भौतिक पूर्वाधार, विद्युत्, जनशक्ति र सेवा व्यवस्थापनका समस्यालाई तत्कालीन रूपमा टार्नेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

विशेषगरी गर्भवती महिला तथा अन्य बिरामीले आवश्यक परीक्षणका लागि घण्टौँ कुर्नुपर्ने वा चिकित्सक अभावका कारण फर्किनुपर्ने अवस्था अन्त्य गर्न प्रतिष्ठान व्यवस्थापन गम्भीर बन्नुपर्ने देखिन्छ। शैक्षिक भवनको विद्युत् समस्या तत्काल समाधान गरी विद्यार्थीको पठनपाठन नियमित गर्न तथा भिडियो एक्सरे सेवामा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ।

सम्बन्धित समाचार