घर निर्माणका लागि ढुंगा फुटाउने क्रममा ढुंगाले च्यापिएर युवकको मृत्यु

जुम्ला:जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा आफ्नै घर निर्माणका लागि ढुंगा फुटाउने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार (२०८३ साउन १३ गते) दिउँसो करिब २:३० बजे सिंजा गाउँपालिका–३ भुली निवासी २७ वर्षीय राजिव शाही आफ्नै घरका लागि ढुंगा फुटाइरहेका बेला अचानक माथिबाट ठूलो ढुंगा खसेर उनलाई च्यापेको थियो।

घटनापछि प्रहरी चौकी नराकोटबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर घाइते शाहीलाई उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्‍याएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको थियो।

प्रतिष्ठानमा उपचारकै क्रममा बेलुका ५:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार