पुलुमा पहिरो र ढुंगाको उच्च जोखिम : सुरक्षित स्थानबाट स्थानीय तह तथा सरकारी कार्यालय सञ्चालनको माग

मुगु:मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलु बजार पहिरो र ढुंगाको उच्च जोखिममा रहेको भन्दै स्थानीय तह तथा अन्य सरकारी कार्यालय सुरक्षित स्थानबाट सञ्चालन गर्न कर्मचारीहरूले माग गरेका छन्।
तल कर्णाली नदीको तीव्र बहाव र माथि कालोपत्थरजस्ता अग्ला तथा कडा चट्टानबीच रहेको पुलु बजार वर्षायाम सुरु भएसँगै हरेक वर्ष पहिरो र विशाल ढुंगा खस्ने जोखिममा पर्ने गरेको छ। यसले स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा कर्मचारीहरूलाई निरन्तर त्रसित बनाउँदै आएको छ।
पछिल्लो पटक साउन ८ गते राति आएको भीषण पहिरो र ढुंगा खस्ने घटनापछि गाउँपालिकाका कर्मचारीहरूले जोखिम मोलेर नियमित सेवा प्रवाह गर्न नसकिने निष्कर्ष निकाल्दै गाउँपालिका अध्यक्षसमक्ष सुरक्षित स्थानबाट कार्यालय सञ्चालन गर्न संयुक्त निवेदन दिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवासचन्द्र रावलका अनुसार कर्मचारीहरूको निवेदन कार्यालय सार्ने मागमा मात्र सीमित नभई पुलु क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको विपद् जोखिम, सरकारी संरचनाको असुरक्षा र स्थानीयको पीडाको दस्तावेज पनि हो।
उनले भने, “यस्तो जोखिमयुक्त स्थानमा कार्यालय सञ्चालन गर्नु भनेको हरेक दिन मृत्युको जोखिमसँग सम्झौता गर्नु सरह हो।”
विगतदेखि दोहोरिँदै आएको विपद्
गाउँपालिका स्थापना भएको केही समयपछि, २०७६ माघ ३ गते, गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको भवनमा ठूलो ढुंगा खस्दा भवनमा क्षति पुग्नुका साथै दराज, टेबल, कुर्सीलगायतका फर्निचर नष्ट भएका थिए। त्यसको एक वर्षपछि गाउँपालिका परिसरमै पुनः ढुंगा खस्दा क्यान्टिनमा क्षति पुगेको थियो।
२०७९ सालमा जोखिम झनै बढ्यो। राष्ट्रिय वाणिज्य बैंकको पुलु शाखाले भाडामा प्रयोग गरिरहेको भवनमाथि करिब दुई सातासम्म निरन्तर ढुंगा खस्दा सोलार प्यानल र छानामा क्षति पुगेको थियो। अवस्था असुरक्षित भएपछि बैंकले आफ्नो ढुकुटीसमेत गाउँपालिका भवनमा सारेर सेवा सञ्चालन गर्नुपरेको शाखा प्रबन्धक जयबहादुर मल्लले बताए।
त्यही अवधिमा प्रहरी चौकी डोल्फुको हालको पुलुस्थित भवनमा पनि ढुंगा खस्दा छाना प्वाल परेको, कोठाभित्र रहेको फर्निचर तथा सिरानी छेउमा राखिएको मोबाइल फोनसमेत नष्ट भएको उल्लेख गरिएको छ।
स्थानीय बस्ती र सरकारी सम्पत्तिमा ठूलो क्षति
कर्मचारीहरूले दिएको निवेदनअनुसार गाउँपालिका केन्द्र वरपरका कम्तीमा १९ वटा घर ढुंगा र पहिरोका कारण प्रयोगविहीन बनेका छन्। संरक्षणको अभावमा ती घर जुनसुकै बेला पूर्ण रूपमा भत्किन सक्ने जोखिममा छन्।
२०७९ सालमै पहिरोका कारण नागरिक आरोग्य सेवा केन्द्रसमेत अर्को स्थानमा सार्नुपरेको थियो।
त्यसैगरी, २०८३ असार २३ गते गाउँपालिका कार्यालय परिसरमै ठूलो ढुंगा खस्दा कार्यालय अगाडि राखिएको फलामे सूचना बोर्ड पूर्ण रूपमा नष्ट भएको थियो।
साउन ८ को विपद् : एकको मृत्यु, सरकारी अभिलेख नष्ट
साउन ८ गते राति २:५५ बजे आएको भीषण पहिरो र ढुंगा खस्ने घटनामा एक जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। घटनामा दुई घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने पाँच घर बस्नै नमिल्ने गरी क्षति पुगेको थियो। ती घरमा व्यवसाय सञ्चालन गर्दै आएका चार परिवारले लाखौं रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेका छन्।
सोही घटनामा गाउँपालिकाले गोदामका रूपमा प्रयोग गर्दै आएको स्थानीयको घरमा राखिएका विभिन्न आर्थिक वर्षका सरकारी अभिलेख, जिन्सी सामग्री, स्वास्थ्य सामग्री, उपकरण तथा औषधि पूर्ण रूपमा नष्ट भएका छन्। महत्वपूर्ण प्रशासनिक कागजातसमेत गुमेपछि सरकारी अभिलेख सुरक्षित राख्नसमेत समस्या भएको गाउँपालिकाले जनाएको छ।
दैनिक ढुंगा खस्ने क्रम जारी
साउन ८ को घटनापछि पनि अवस्था सामान्य बन्न सकेको छैन। गाउँपालिका केन्द्र वरपर अहिले पनि दैनिकजसो ढुंगा खस्ने क्रम जारी रहेको कर्मचारीहरूले बताएका छन्।
जनप्रतिनिधि तथा कर्मचारीहरू आफूहरू बस्दै आएको डेरा छाडेर स्वास्थ्य चौकी पुलु तथा अन्य सुरक्षित घरमा रात बिताउन बाध्य भएको उल्लेख गर्दै कर्णाली नदीको बहावसमेत बढेकाले ती स्थान पनि दीर्घकालीन रूपमा सुरक्षित नरहेको उनीहरूको भनाइ छ।
उनीहरूका अनुसार यस्तो अवस्थामा सरकारले तोकेको बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा कार्यालयमा बसेर सेवा प्रवाह गर्न सम्भव छैन। कार्यालय पुग्ने र त्यहाँ बस्ने हरेक क्षण जोखिमपूर्ण भएकाले कर्मचारी र सेवाग्राही दुवैको ज्यान जोखिममा पर्ने अवस्था रहेको उनीहरूको तर्क छ।
सुरक्षित स्थानबाट सेवा सञ्चालनको प्रस्ताव
स्थानीय तहको कार्यक्षेत्र विस्तारसँगै उद्योग, उपभोक्ता हित संरक्षण, भूमि प्रशासनलगायतका नयाँ जिम्मेवारी थपिँदै गएको भए पनि नयाँ सरकारी संरचना निर्माणका लागि पर्याप्त तथा दर्तावाला जग्गा उपलब्ध नभएको समस्या पनि कर्मचारीहरूले औँल्याएका छन्।
हालको प्रशासकीय भवन साँघुरो र उच्च जोखिममा रहेको तथा सरकारी जिन्सी सामग्री र अभिलेखसमेत विभिन्न भाडाका असुरक्षित घरमा राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
कर्मचारीहरूले आफूहरू सेवा प्रवाहबाट पछि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। विपद्पछिको व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, अनलाइनमार्फत उपलब्ध गराउन सकिने सेवा तथा अनुकूल समय र सुरक्षित वातावरणमा कार्यालय सञ्चालन गर्न आफूहरू सधैं तयार रहेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन्। जोखिमका कारण नियमित कार्यालय समयअनुसार सेवा दिन नसकिएको अवस्थाप्रति सेवाग्राहीसँग क्षमायाचनासमेत गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत शुवासचन्द्र रावलले कर्मचारीहरू सेवा प्रवाहबाट पछि नहटेको स्पष्ट पार्दै भने, “हामीले सेवा रोक्न खोजेका होइनौं। सेवाग्राहीलाई सकेसम्म सहज रूपमा सेवा दिने प्रयास जारी छ। तर कार्यालय परिसर र बसोबास दुवै असुरक्षित भएपछि कर्मचारीको ज्यान जोगाउनु पनि राज्यको दायित्व हो।  

सम्बन्धित समाचार