भ्रामक सूचना नफैलाउन कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आग्रह

जुम्ला : कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत सवारी साधन भाडा खर्च सम्बन्धी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको प्रतिवेदनमा सवारी साधन भाडातर्फ करिब १२ लाख रुपैयाँ खर्च भएको उल्लेख रहेको बताए। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा १४ लाख ४४ हजार रुपैयाँ खर्च भएको भन्दै प्रकाशित समाचार तथ्यपरक नभएको उनको दाबी छ।

भण्डारीका अनुसार उक्त रकममध्ये केही हिस्सा आर्थिक वर्ष २०७९/०८० मा सिर्जित दायित्वको भुक्तानीसमेत हो। साथै तालिम, गोष्ठी, कार्यालय सामग्री ढुवानी, अनुगमन, भ्रमण, राहत तथा उद्धारलगायत कार्यालयका आधिकारिक प्रयोजनका लागि कानुनी प्रक्रिया पूरा गरी सम्झौतामार्फत सवारी साधन भाडामा लिइएको उनले उल्लेख गरेका छन्।

उनले गाउँपालिकामा कार्यरत कुनै पनि कर्मचारी वा जनप्रतिनिधिले व्यक्तिगत प्रयोजनका लागि भाडाका सवारी साधन प्रयोग नगरेको दाबी गर्दै भ्रामक सूचना र अफवाहको पछि नलाग्न सबै सरोकारवाला तथा गाउँवासीलाई आग्रह गरेका छन्।

भण्डारीले सार्वजनिक खर्चलाई मितव्ययी र पारदर्शी बनाउने विषयमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै महालेखा परीक्षकको प्रतिवेदनलाई स्वीकार गर्दै त्यसबाट आवश्यक सुधार गर्ने नीति रहेको उल्लेख गरेका छन्। उनका अनुसार प्रतिवेदनले अनियमितता औँल्याएको नभई एकद्वार प्रणालीमार्फत सम्झौता गरी खर्च गर्न सुझाव दिएको हो।

साथै, उनले २०८२ साल वैशाखमा सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर २०८३ साल साउनमा समाचार प्रकाशित गर्नु कत्तिको सान्दर्भिक हो भन्ने प्रश्नसमेत उठाएका छन्।

सम्बन्धित समाचार