मुगुमा चार लेन कर्णाली राजमार्ग निर्माणका लागि पहल गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

मुगु:संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली राजमार्गलाई सुरक्षित, स्तरीय र आधुनिक सडकका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सोमबार कर्णाली राजमार्गको वास्तविक अवस्था बुझ्न मुगु पुग्नुभएका मन्त्री लम्सालले गमगढीस्थित अनुसाटप होटलमा आयोजित भेटघाट कार्यक्रममा दीर्घकालीन योजनाअनुसार कर्णाली राजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्यसहित आवश्यक अध्ययन र प्रक्रिया अघि बढाइने बताउनुभयो।

कार्यक्रममा मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले ताल्चादेखि सात मोडसम्मको सडक कालोपत्रे, पिना–बालै–गमगढी सडक विस्तार तथा रारा भ्रमणमा आउने पर्यटकलाई कम्तीमा एक रात गमगढीमा बस्ने वातावरण सिर्जना गर्न आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्नुभयो। उहाँले व्यापार–व्यवसायलाई चलायमान बनाउन सडक पूर्वाधारको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

यस्तै, सोरु गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले सडक विस्तार, सडक स्तरोन्नति, पुल निर्माणलगायत जिल्लाका विभिन्न विकासका माग मन्त्री लम्सालसमक्ष राखेका थिए।

स्थानीय तह, जनप्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीयवासीबाट प्राप्त सुझाव तथा मागलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनका लागि पहल गर्ने मन्त्री लम्सालले प्रतिबद्धता जनाउनुभयो।