नेपालका सर्वाधिक रक्तदाता कर्मचार्य मुगुमा : स्वयंसेवी रक्तदाता समाज जिल्ला समिति गठन

जुम्ला : नेपालका सर्वाधिक रक्तदाता, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेम सागर कर्मचार्य शनिबार जिल्ला अस्पताल मुगुमा आफ्नो १८७औँ पटक रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रमसँगै जिल्ला समन्वय समिति मुगुमा श्रेष्ठको स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा मुगुमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाज मुगु जिल्ला शाखाको नयाँ कार्यसमिति पनि गठन गरिएको छ।

नवगठित कार्यसमितिमा बलि बहादुर बुढा अध्यक्ष, सकुन्तला बुढा उपाध्यक्ष, सितला मल्ल कोषाध्यक्ष, शक्क बुढा सचिव तथा जिग्मेद लामा, नवीन कार्की र मुकेश शाही सदस्य चयन भएका छन्।
कार्यक्रममा जिल्लामा रगतको अभावका कारण बिरामीले भोग्नुपरेका समस्या, आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने व्यवस्था तथा रक्तदान अभियानलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूबाट सुझाव सङ्कलन गरिएको थियो।

उनले रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए। उनले वैज्ञानिक रूपमा निश्चित समयको अन्तरालमा गरिएको रक्तदानले स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने, बरु नयाँ रक्तकोषिका निर्माणमा सहयोग पुग्ने भएकाले भ्रममा नपरी रक्तदान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे।

कार्यक्रमका सहभागीहरूले मुगुजस्तो दुर्गम जिल्लामा रक्त अभावका कारण बिरामीले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न स्वयंसेवी रक्तदाता समाजको गठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। नवगठित समितिले जिल्लाभर नियमित रक्तदाता विस्तार, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा आकस्मिक अवस्थामा सहज रूपमा रगत उपलब्ध गराउने अभियानलाई प्राथमिकताका साथ अघि बढाउने छ ।

सबैभन्दा  सुत्केरी हुने महिलालाई आवश्यक परेको बेला रगतको अभाव हुने तथा रक्तदान सम्बन्धी स्वास्थ्य चेतनाको कमी रहेको पाइएकाले आगामी दिनमा यस विषयमा जनचेतनामूलक विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरिने जनाएको छ।

सम्बन्धित समाचार