डोल्पाबाट जुम्ला आउदै गरेको बाेलेरो मौरेलेखमा दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते

जुम्लाःडोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका ४, मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०१–००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ८ निवासी अन्दाजी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक जुम्लाको चन्दननाथ नगरपालिका ८ निवासी ३५ वर्षीय बिन्दास रावल सहित अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ।

प्रहरीका अनुसार चालक बिन्दास रावलको अवस्था मध्यम रहेको छ भने अन्य सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा परेका अन्य घाइतेहरूमा धनबहादुर डाँगी, लालदेवी रोकाया ४ वर्षीय आवास रोकाया, कर्णसरा बुढा, धिरेन्द्र बुढा थोकी, २ वर्षीय पृतम बुढा, भीम प्रसाद बुढा, नन्दराम शाही, डिल्ली प्रसाद उपाध्याय र निता नन्द अधिकारी रहेका छन्।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार