चट्याङ लागेर हिमाका एक युवकको मृत्यु,दुई जना सामान्य घाइते

                                                                     फाइल फोटा

जुम्ला : बुधबार परेको अविरल वर्षासँगै परेको चट्याङ लागेर जुम्लाको हिमा गाउँपालिका २ का एक युवकको मृत्यु भएको छ।

हिमा गाउँपालिकाको ओदीस्थित छोटाखर्क क्षेत्रमा चट्याङ लाग्दा करिब १९ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो।स्थानीयका अनुसार भेडा चराउन गएका रावत चट्याङको चपेटामा परेका थिए। उक्त घटनामा १५ वटा भेडा पनि मरेको स्थानीयले बताएका छन्। साथै, भेडा चराउन गएका बल रोकाया र जगत रोकाया सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घटनास्थलतर्फ बड्की प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। भौगोलिक रूपमा दुर्गम क्षेत्र भएकाले प्रहरी टोली घटनास्थलमा पुग्न केही समय लाग्ने उनले बताए।उनका अनुसार घटनामा मरेका भेडाको यकिन विवरण आउन बाँकी रहेको छ।

यसैबीच, जुम्लाको चन्दननाथ नगरपालिका १०, बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि चट्याङ पर्दा १२ वटा खसी बाख्रा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका अनुसार बुधबार अपराह्न करिब ३:३० बजे सामुदायिक वन क्षेत्रमा चरिरहेका खसी बाख्रामा चट्याङ पर्दा पाँच जना किसानका १२ वटा खसी ,बाख्राको मृत्यु भएको हो। यस घटनामा भने कुनै मानवीय क्षति भएको छैन।

प्रहरीका अनुसार दलबहादुर कामीको १ वटा, धनराज विकको ३ वटा, ज्योति नेपालीको १ वटा, गोबी सार्कीको १ वटा र सिंह नेपालीको ६ वटा गरी जम्मा १२ वटा खसी बाख्रा मरेका हुन्।

घटनाबारे स्थानीय दलबहादुर कामीले साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय, जुम्लामा टेलिफोनमार्फत जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार