चट्याङ लागेर जुम्लामा १२ वटा खसी बाख्रा मरे

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका १० स्थित बोहोरागाउँको सिद्धि गणेश सामुदायिक वनमा चट्याङ लाग्दा १२ वटा खसीबाख्राको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार अपराह्न करिब ३:३० बजे सामुदायिक वन क्षेत्रमा चरिरहेका खसीबाख्रामा चट्याङ लाग्दा पाँच जना किसानका १२ वटा खसीबाख्राको मृत्यु भएको हो। उक्त घटनामा मानवीय क्षति भएको छैन।

प्रहरीका अनुसार दलबहादुर कामीको १ वटा, धनराज विकको ३ वटा, ज्योति नेपालीको १ वटा, गोबी सार्कीको १ वटा र सिंह नेपालीको ६ वटा गरी कुल १२ वटा खसीबाख्रा मरेका छन्।

घटनाबारे स्थानीय दलबहादुर कामीले साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय जुम्लामा टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गर्नुका साथै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आयआर्जनको प्रमुख स्रोत भएकाले यस घटनाले सम्बन्धित परिवारलाई आर्थिक क्षति पुगेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार