हिमामा उपाध्यक्ष संग एकल महिला प्रोत्साहन कार्यक्रम: चार सय बढी महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
जुम्ला : जुम्लाको हिमा गाउँपालिकामा एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई लक्षित गर्दै प्रोत्साहन स्वरूप न्यानो कपडा वितरण कार्यक्रम गरिएको छ। हिमा गाउँपालिका न्यायिक शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा एकल महिला र ज्येष्ठ नागरिक महिलालाई धोती तथा घुम्चे पछ्यौरा वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले एकल महिलालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने बताए। उनले उपाध्यक्ष सुर्पुना शाहीले एकल महिलासँग जोडिएर उनीहरूको सुख–दुःखमा साथ दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताए।
अध्यक्ष शाहीले गाउँपालिकाले महिलाका लागि जनचेतनामूलक कार्यक्रम, सामाजिक कुरीतिविरुद्धका अभियानलगायतका गतिविधि गर्दै आएको उल्लेख गरे। “तपाईंहरूको मतबाट निर्वाचित भएर आएपछि हामी जनताको सेवक बनेर काम गरिरहेका छौँ,” उनले भने।
कार्यक्रममा हिमा गाउँपालिकाका उपाध्यक्ष सुर्पुना शाहीले आफू निर्वाचित भएपछि महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्दै आएको बताइन्। उनले यसअघि सुत्केरी तथा गर्भवती महिलालाई कोसेली वितरण कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्। सबैलाई समेट्न नसक्दा केही छुटेको भए पनि आगामी दिनमा थप प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने बताइन्।
उनले भनिन्, “यस पटक एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई सम्झनास्वरूप न्यानो कपडा अन्तर्गत धोती र घुम्चे पछ्यौरा वितरण गरेका हौँ। महिलाको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर आगामी दिनमा अझै उपयोगी कार्यक्रम सञ्चालन गर्नेछौँ।”
हिमा गाउँपालिका न्यायिक शाखाका सदस्य सचिव मालिका डाँगीले “उपाध्यक्षसँग एकल महिला प्रोत्साहन कार्यक्रम” अन्तर्गत न्यानो कपडा वितरण गरिएको जानकारी दिइन्। उनले जुनसुकै मौसममा प्रयोग गर्न मिल्ने धोती र घुम्चे पछ्यौरा वितरण गरिएको बताइन्।
उनका अनुसार हिमा गाउँपालिकाका चार सयभन्दा बढी एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई उक्त सामग्री वितरण गरिएको छ। उनले आगामी दिनमा महिलाको आर्थिक, सामाजिक तथा आत्मनिर्भरता बढाउने खालका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।
कार्यक्रममा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जलन्धर भुसाल, महिला तथा बालबालिका शाखा प्रमुख राजलक्ष्मी रावललगायतको उपस्थिति रहेको थियो।








