जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा,स्वास्थ्यकर्मीको योगदानको उच्च प्रशंसा

जुम्ला : जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समिति जुम्लाको आयोजनामा सम्पन्न घोषणा सभामा स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितासहित पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता व्यक्त गरिएको हो।


जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यले खोप समन्वय समितिको बैठक बसेर प्रदेशसँग आवश्यक समन्वय गरी मिति तय गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए। उनले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिएर काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आगामी दिनमा यसको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पूर्ण खोप सुनिश्चितता भनेको तोकिएको अवधिभित्र सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अवस्था भएको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविकाले हरेक वडामा जन्मिएका बालबालिकालाई खोप सेवासम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।


प्रजिअ पौडेलले सबै बालबालिकाले आवश्यक सबै खोप पाएपछि मात्रै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउँदै खोपको गुणस्तर र प्रभावकारिता समेत महत्वपूर्ण रहेको बताए। उनले स्वास्थ्यकर्मीहरूले गाउँ–टोलदेखि जोखिमपूर्ण अवस्थामा समेत सेवा दिएर नागरिकको जीवन रक्षा गरिरहेको भन्दै देशभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गरे।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले तोकिएका लक्ष्य र सूचकहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिए। उनले घरधुरी सर्वेक्षण, अनुगमन तथा तथ्याङ्कका आधारमा कुनै पनि बालबालिका खोपबाट नछुटेको सुनिश्चित भएपछि मात्रै जिल्ला घोषणा गरिने बताए।

उनका अनुसार एक नगरपालिका र सात गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेपछि जिल्लास्तरीय घोषणा गरिएको हो। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि यस्तो घोषणा गर्ने व्यवस्था रहेको छ। खोपका सूचकहरू पूरा गर्ने आठवटा स्वास्थ्य शाखाका प्रमुखलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले प्रत्येक बालबालिकाले खोप पाउनु अधिकार भएको बताए। उनले पूर्ण खोप अभियान सामाजिक रूपान्तरणको महत्वपूर्ण अभियान भएको उल्लेख गर्दै हरेक वर्ष नागरिकको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिए।


कर्णाली प्रदेशका खोप फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक ओमप्रसाद पौडेलले पूर्ण खोप सुनिश्चितताका लागि साउन महिनादेखि नै स्वास्थ्य क्षेत्रका सबै निकायले निरन्तर काम गर्दै आएको बताए। उनले बालबालिकालाई खोप लगाउने विषयमा ऐन तथा नियमको व्यवस्था रहेको उल्लेख गर्दै अभियान सफल बनाउन खोप समिति, स्वास्थ्यकर्मी र सम्बन्धित सबै निकायको भूमिका महत्वपूर्ण रहेको बताए।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गुरु प्रसाद चौलागाईंले सबै स्वास्थ्य संस्थाहरूको प्रतिवेदन, सेवा प्रवाह र खोपको अवस्थाबारे अनुगमन गरेपछि मात्रै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए। उनले यसको निरन्तरताका लागि नियमित निगरानी र थप प्रभावकारी काम आवश्यक रहेको बताए।


त्यस्तै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा जिल्ला खोप समितिले पूर्ण खोप सुनिश्चितता घोषणा अभियानलाई सफल बनाउन योगदान पु¥याउने जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा जिल्लामा सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने सिंजा गाउँपालिकाको स्वास्थ्य शाखालाई विशेष सम्मान गरिएको थियो। साथै, पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन सहयोग पु¥याउने विभिन्न सरोकारवाला निकायलाई मायाको चिनो वितरण गरी कदर गरिएको थियो।


कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सबै बालबालिकाले समयमै पूर्ण खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्दै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए। जिल्ला खोप समितिले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानमा योगदान दिने सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ। जुम्लाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको भन्दै यसले बालस्वास्थ्य संरक्षणमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार