मुगुका उत्कृष्ट तीन कृषक सम्मानित

मुगु:कर्णाली प्रदेश सरकारको ‘जिल्लास्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम’ अन्तर्गत मुगुका तीन जना अगुवा कृषक सम्मानित भएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि निर्देशनालयको नीति तथा मापदण्डअनुसार व्यावसायिक खेती गर्दै आएका कृषकलाई जिल्ला कृषि विकास कार्यालय मुगुले शनिबार एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरेको हो।
कार्यालयका अनुसार सम्मानित हुने कृषकहरूमा छायाँनाथ रारा नगरपालिका–६ का स्याउ उत्पादक कृषक जसन्त कुलाल प्रथम, खत्याड गाउँपालिका–१० का अनार उत्पादक कृषक मनलाल वि.क. द्वितीय र छायाँनाथ रारा नगरपालिका–४ का ईश्वर भाम तृतीय भएका छन्। उनीहरूलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख अनुज मण्डलले पुरस्कारको राशि सानो भए पनि यसले कृषकहरूको मनोबल बढाउनुका साथै अन्य व्यक्तिलाई पनि कृषि क्षेत्रमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
पुरस्कृत कृषक मनलाल वि.क. ले भारतमा उपचारका लागि जाँदा खानका लागि ल्याएको अनारको बीउबाट खेती सुरु गरेको अनुभव सुनाए। सुरुमा दुई–तीन वटा बिरुवाबाट परीक्षणका रूपमा सुरु गरिएको अनार खेती अहिले दुई सयभन्दा बढी बोटमा विस्तार भएको उनले बताए। लाखौँ रुपैयाँ लगानी गरेर अनार, केरा र तरकारी खेती गर्दै आएका वि.क. ले राज्यबाट पहिलो पटक यस्तो प्रोत्साहन पाउँदा खुसी लागेको बताए।
यस्तै, प्रथम भएका स्याउ कृषक जसन्त कुलालले भारतमा ३५ वर्ष बसेर सिकेको स्याउ खेतीको सीप आफ्नै जिल्लामा प्रयोग गर्ने उद्देश्यले स्वदेश फर्किएर लगानी गरेको बताए। उनले भारतमा कमाएको करिब ७० लाख रुपैयाँ लगानी गरेर स्याउ खेती सुरु गरेको जानकारी दिए।
“विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्ने सोचले स्याउ खेती सुरु गरेको हुँ,” कुलालले भने। पछिल्ला केही वर्षयता स्याउ उत्पादन घट्दै गएको, सिँचाइ र घेरबारको समस्या रहेको भन्दै उनले सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताए। जिल्लाकै उत्कृष्ट नमुना कृषकका रूपमा सम्मानित हुन पाउँदा आफू निकै खुसी भएको उल्लेख गर्दै उनले सम्मान गर्ने निकायप्रति आभार व्यक्त गरे।
कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले कृषक वर्ग समाजको सबैभन्दा जेठो र सम्मानित वर्ग भएको बताए। उनले स्थानीय सरकारले कृषक लक्षित तालिम, गोष्ठी तथा अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
त्यस्तै, जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्या समाधान गर्न स्थानीय सरकारले बजारीकरण, भण्डारण र प्रचार–प्रसारमा विशेष ध्यान दिनुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले कृषकहरूलाई राज्यको भर मात्र नपरी आफ्नो प्रयासलाई निरन्तरता दिन आग्रह गर्दै उत्कृष्ट काम गर्ने कृषकका लागि सरकारले थप लगानी गर्नुपर्ने धारणा राखे। उनले आयातित वस्तुको प्रतिस्थापन गर्न जिल्लामै उत्पादित वस्तुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताए।







