चन्दननाथ नगरपालिकाले ल्यायो ५९ करोड ४६ लाखको बजेट :कृषि, स्वास्थ्य, सडक, पर्यटन र फोहोर व्यवस्थापनलाई प्राथमिकता

जुम्ला: चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैसा बराबरको बजेट ल्याएको छ । नगरसभामा मेयर राजु सिहँ कठायतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, फोहोर व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई गर्ने लगायतको नितिकार्यक्रमलाई प्रथामिकतामा राखीएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाको १६ औँ अधिवेशनमा नगर उपमेयर राम देवी खड्काले प्रस्तुत गरेको संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट प्राप्त हुने आयलाई आधार मानेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरेकी हुन। प्रस्तुत बजेटमध्ये संघीय सरकारबाट करिब ४९ करोड ३७ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट करिब ५ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
पूर्वाधार विकासमा विशेष
नगरपालिकाले नगरस्तरीय यातायात गुरुयोजना अनुसार सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकता दिएको छ। चन्दननाथ कार्यालयदेखि नराकोट सम्म सडक निर्माण, नगरपालिका गेटदेखि जातिभिड जोड्ने सडक तथा मिचा गाउँ जोड्ने सडक निर्माणका लागि समपूरक अनुदानमार्फत बजेट विनियोजन गरिएको छ।
नगर क्षेत्रमा निर्माण हुने भवनहरूलाई अपाङ्गमैत्री, बालमैत्री र लैङ्गिकमैत्री बनाउनुपर्ने व्यवस्था कायम राखिएको छ। नक्सापास तथा अभिलेखीकरणलाई पनि थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।
आधुनिक कृषि र अर्गानिक उत्पादन अभियान
नगरपालिकाले कृषियोग्य जमिन बाँझो राख्न नदिने नीति लिएको छ। कृषि यान्त्रिकीकरण, बीउ बैंक स्थापना, अर्गानिक खेती प्रवद्र्धन तथा विषादीमुक्त कृषि उत्पादनलाई प्राथमिकता दिइएको छ। कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन व्यवसायिक खेती, कृषि उद्यमशीलता र कृषि पर्यटन विकासका कार्यक्रम सञ्चालन गरिनेछन्। स्थानीय उत्पादनको बजारीकरण र उच्च मूल्यका कृषि वस्तुको उत्पादन विस्तारमा समेत जोड दिइएको छ।
स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने
प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्रका कार्यक्रम अघि सारिएका छन्। मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागि आकस्मिक प्रसूति कोष स्थापना गरिनेछ भने स्वास्थ्य संस्थामा आवश्यक उपकरण, औषधि र जनशक्ति व्यवस्थापन गरिनेछ।स्वास्थ्य संस्थाहरूलाई बालमैत्री, किशोरमैत्री, अपाङ्गमैत्री तथा ज्येष्ठ नागरिकमैत्री बनाउने नीति पनि नगरपालिकाले लिएको छ।
फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा नयाँ योजना
नगरपालिकाले आधुनिक सेनिटरी ल्याण्डफिल्ड निर्माणलाई आगामी वर्षको प्रमुख कार्यक्रममध्ये एक बनाएको छ। फोहोर व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै ‘जसले फोहोर गर्छ, उसैले सफा गर्छ’ भन्ने अवधारणालाई कार्यान्वयन गरिने जनाएको छ।
सडक किनार तथा नदी क्षेत्रहरूमा वृक्षारोपण, जलाधार संरक्षण र वातावरणमैत्री विकासका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण
नेपाली भाषाको उद्गमस्थलका रूपमा परिचित जुम्लाको भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ।
चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, गणेशगुफा, डुडुल चैत्य, दानसाँघु लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने भएका छन्। पर्यटन सूचना केन्द्र स्थापना गर्न समेत पहल गरिने जनाइएको छ।
सामाजिक सुधारका अभियान
बालविवाह न्यूनीकरण, महिला हिंसा नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछन्। नगरौं बिहेको कुरा, नहुँदै २० वर्ष पूरा”अभियानमार्फत बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यसमेत नगरपालिकाले लिएको छ।
सूचना प्रविधिमार्फत सेवा प्रवाह
सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउन डिजिटल नागरिक वडापत्र, अडियो नागरिक वडापत्र तथा एकद्वार राजस्व प्रणाली लागू गरिनेछ। नगरका प्रमुख स्थानहरूमा सिसिटिभी जडान कार्यलाई निरन्तरता दिँदै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जनाइएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत समृद्ध, व्यवस्थित, वातावरणमैत्री र प्रविधिमैत्री नगर निर्माणको आधार तयार गर्ने अपेक्षा गरेको छ।











