कर्मचारी अभाव हुदा मुगुका स्थानीयलाई सामान्य सिफारिस लिन समेत हैरान
मुगु :हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकामा वडा सचिवको अभाव हुँदा स्थानीय बासिन्दाले सामान्य सिफारिसदेखि अन्य सेवा लिनसमेत ठूलो समस्या भोग्दै आएका छन्।
सोरु गाउँपालिकामा १ देखि ११ वटासम्म वडा रहेका छन्। स्थानीय तह सञ्चालनका लागि प्रत्येक वडामा एक जना वडा सचिव हुनुपर्ने व्यवस्था भए पनि हाल गाउँपालिकामा पाँच जना मात्र वडा सचिव कार्यरत छन्। कर्मचारी अभावका कारण जन्म, मृत्यु, बसाइँसराइ, योजना सम्झौता, विभिन्न सिफारिसलगायत दैनिक प्रशासनिक सेवा लिन स्थानीय नागरिकहरू पालिका केन्द्र सोरुकोट पुग्न बाध्य भएका छन्।
वडा कार्यालयबाट सहज रूपमा पाउनुपर्ने सेवा लिन कतिपय नागरिकहरू एक दिन पैदल हिँडेर पालिका केन्द्र पुग्नुपर्ने अवस्था रहेको छ। गत वर्ष एक पटक मात्र पशु सेवा कार्यालयका कर्मचारी आएर राष्ट्रिय परिचयपत्र बनाउने काम भए पनि त्यसपछि वडा कार्यालयमा नियमित रूपमा सचिव नदेखिएको स्थानीयको गुनासो छ।
सचिवबाट हुने सबै कामका लागि पालिका केन्द्र धाउनुपर्दा नागरिकलाई थप समस्या भएको छ। कहिलेकाहीँ पालिका केन्द्रमै पनि सचिव नभेटिँदा सेवाग्राही थप मर्कामा पर्ने गरेका छन्।
सोरु गाउँपालिका १० का स्थानीय कर्णप्रसाद आचार्यले वडा कार्यालयबाट पाउनुपर्ने सेवा लिन पनि गाउँबाट टाढा जानुपर्ने अवस्था रहेको गुनासो गरे। “सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारा नारामै सीमित भयो, गाउँमा अधिकार आएन, सिंह मात्र आएको महसुस भएको छ,” उनले भने।
यस्तै समस्या भोग्दै आएका सोरु गाउँपालिका ५ का वडा सदस्य कृतिसिंह शाहीले पनि वडा कार्यालयमा सचिव नहुँदा नागरिकलाई सेवा दिन कठिन भएको बताए। “वडा सदस्यको कार्यकाल सकिन लागिसक्यो, तर वडा सचिवको उपस्थिति अझै देख्न पाइएको छैन। नागरिकले वडा तहबाट पाउने सामान्य सेवा लिनसमेत पालिका केन्द्र पुग्नुपर्ने अवस्था छ,” उनले भने।
स्थानीय जनप्रतिनिधिहरूले पटक–पटक वडा सचिवको व्यवस्थाका लागि पहल गरे पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या समाधान हुन नसकेको बताएका छन्।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार गाउँपालिकामा वडा सचिवको दरबन्दी धेरै खाली रहेको छ। हाल पाँच जना स्थायी सचिवबाट सबै ११ वडाको सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
“राज्यको नीति अनुसार जन्म, मृत्यु, बसाइँसराइ लगायतका काम अनलाइन प्रणालीबाट गर्नुपर्ने भएकाले एक जना सचिवले दुई–तीन वडाको काम समेत हेर्नुपर्ने अवस्था आएको छ। अहिले पालिकाले एकीकृत सेवा सञ्चालन गरेर नागरिकलाई सेवा दिइरहेका छौ अध्यक्ष शाहीले भने।
उनका अनुसार खाली रहेका पदपूर्तिका लागि कर्णाली प्रदेश लोकसेवा आयोगमा माग गरिएको छ। केही समयपछि सबै वडाबाट नियमित सेवा दिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।
सामान्य प्रशासनिक सेवा लिनसमेत स्थानीय नागरिकले यति धेरै कठिनाइ भोग्नुपर्ने अवस्थाले संघीयताको अनुभूति गर्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय सरकार नजिकको सरकार भए पनि सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ।







