जुम्लाकाे प्रयोगविहीन रहेको बसपार्क सञ्चालनमा आउने,यहि १० गते देखि सबै यातायात सेवा बसपार्कबाटै सञ्चालन हुने

जुम्ला :लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको जुम्लाको बसपार्क अब नियमित सञ्चालनमा आउने भएको छ। चन्दननाथ नगरपालिका–६ मा निर्माण गरिएको बसपार्कबाट आगामी २०८३ साल असार १० गते देखि सबै यातायातका साधन सञ्चालन गर्ने निर्णय गरिएको हाे ।

बसपार्क सञ्चालनसम्बन्धी विषयमा चन्दननाथ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रवि बहादुर थापाको अध्यक्षतामा यातायात व्यवसायी, जग्गाधनी तथा सरोकारवाला निकायबीच बैठक बसेको थियो। बैठकले बसपार्क सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णय गरेको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यका अनुसार बसपार्क निर्माण क्षेत्रमा परेको जग्गा र यातायात सञ्चालन व्यवस्थापनका विषयमा यातायात समिति तथा जग्गाधनीसँग छलफल गरी सहमति गरिएको हो।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गौरी नन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, नगर उपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, वडा अध्यक्ष रवि बहादुर थापा, जग्गाधनी तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।

बैठकले बसपार्क सञ्चालनका लागि निम्न निर्णय गरेको छ। २०८३ साल असार १० गते देखि छिनासिमस्थित बसपार्कबाट सबै सवारी साधन सञ्चालन गर्ने ,मुख्य सडकदेखि बसपार्कसम्म जाने बाटोको जग्गा व्यवस्थापन तथा आवश्यक प्रक्रिया अगाडि बढाउने, बसपार्क सञ्चालनका क्रममा आउने तत्कालीन समस्या समाधानका लागि नगरपालिकाले सहजीकरण समिति गठन गर्ने,
बसपार्कको सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय जुम्लालाई अनुरोध गर्ने,जग्गाधनीहरूले बसपार्क सञ्चालनमा कुनै अवरोध नगर्ने,बसपार्कमा आवश्यक पर्ने सुरक्षा, खानेपानी, शौचालयलगायतका व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले सहयोग गर्ने,लामो समयदेखि निर्माण भएर पनि प्रयोगमा आउन नसकेको बसपार्क सञ्चालनमा आउने भएपछि यातायात व्यवस्थापन सहज हुने र यात्रुहरूले पनि सुविधा पाउने अपेक्षा गरिएको छ।साे बसर्पाक ३.३६५ बर्गमिटर चन्दनाथ नगर बिकास समितिकाे नाममा रहेकाेछ।

सम्बन्धित समाचार