हिमा गाउँपालिकामा व्यवसायिक मौरीपालन प्रवर्द्धन कार्यक्रम सम्पन्न: ४२ कृषकलाई आधुनिक सामग्री वितरण
जुम्ला:जुम्लाको हिमा गाउँपालिकाले व्यवसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने मौरीपालन व्यवस्थापन तथा सीपमूलक तालिम सम्पन्न गरेको छ । हिमा गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय मौरीपालक कृषकलाई व्यवसायिक मौरीपालनका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको मौरी विकास केन्द्र गोदावरी, ललितपुरको सहकार्य तथा हिमा गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को संघ सरकारबाट प्राप्त सशर्त अनुदान कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो ।
हिमा गाउँपालिकाका मौरीपालक कृषकहरूको माग अनुसार मिति २०८३ साल असार २ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तालिममा ४२ जना कृषक सहभागी भएका थिए । सहभागीमध्ये ७ जना महिला र ३५ जना पुरुष रहेका थिए ।
तालिममा मौरीको जात, घार व्यवस्थापन, मौरीको आहार व्यवस्थापन, रानी मौरीको संरक्षण तथा उत्पादन, रोग तथा शत्रु व्यवस्थापन, मह उत्पादन र व्यवसायिक बजारीकरणलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
हिमाली कृषि, मौरी तथा पशुपक्षी फर्मका संञ्चालक बिकास रोकायाले मौरीपालनलाई व्यवस्थित र व्यवसायिक बनाउन आधुनिक प्रविधि तथा वैज्ञानिक व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका हुन । उनका अनुसार मौरीपालनबाट मह उत्पादनसँगै कृषकको आम्दानी वृद्धि गर्न सकिने सम्भावना रहेकोले यस्ताे खालको तालिम दिईएको हाे ।
कार्यक्रम अन्तर्गत सहभागी कृषकलाई व्यवसाय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न मौरीपालन सामग्री निःशुल्क वितरण गरिएको छ ।
हिमाका कृषकलाई ४२ थान न्यूटन बी घार, ४२ थान अर्फोन, ४२ थान घुन्टी, ४२ थान धुवाधानी, ४२ थान रानी गेट, ४२ थान मह चक्कु, ४२ थान रानी केज, ४२ थान मैन पाता र ४२ थान फिडर फ्रेम लगायतका सामग्री वितरण गरिएको हो ।
तालिममा सहभागी कृषकहरूले दुई दिनको तालिमबाट धेरै महत्वपूर्ण ज्ञान हासिल भएको बताएका छन् । उनीहरूले समय अझै बढाएर एक हप्तासम्म तालिम सञ्चालन गर्न सके अझ प्रभावकारी हुने धारणा राखेका थिए । छोटो अवधिको भए पनि उपलब्ध अवसरप्रति खुसी व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले मौरीपालक कृषकहरूको व्यवसाय प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
अध्यक्ष शाहीले तालिम भनेको बाटो देखाउने माध्यम भएकाे बताए। उनले भने,सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्ने जिम्मेवारी कृषकको हो। तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवसायमा लागू गर्न कृषकहरूलाई उनले आग्रह गरे ।
मौरीपालन हिमाली क्षेत्रमा सम्भावनायुक्त व्यवसायका रूपमा लिइन्छ । मौरीले उत्पादन गर्ने महले आम्दानी बढाउनुका साथै कृषि बालीको परागसेचन प्रक्रियामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रवर्द्धनले स्थानीय कृषि उत्पादन र कृषकको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








