कनकासुन्दरीमा रास्वपाको सभापतिमा लक्ष्मीकृष्ण हमाल चयन

जुम्ला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर वडा, पालिका तथा जिल्ला अधिवेशनलाई तीव्रता दिइरहेको अवस्थामा जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सम्पन्न पहिलो पालिका अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनबाट लक्ष्मीकृष्ण हमाल पालिका सभापतिमा चयन भएका छन्। त्यसैगरी उपसभापतिमा जीवन रोकाया, सचिवमा शान्त बुढा, सहसचिवमा गगन बढुवाल चयन भएका छन्।

त्यस्तै महिला सदस्यमा बिनिता बुढा र माग्ली बुढा, दलित सदस्यमा रामबहादुर शिर्की तथा खुला सदस्यमा खड्क रोकाया र दिनेश बुढा चयन भएका छन्। यसरी नौ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

कनकासुन्दरी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा जिल्ला सभापति मकरबहादुर भण्डारीले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले पार्टीको नीति, नियम र सिद्धान्तअनुसार कार्य गर्न तथा आगामी दिनमा पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

जिल्ला सभापति भण्डारीका अनुसार पालिका भित्र तथा बाहिर रहेका समुदायहरूको हकहितका लागि काम गर्न, विकास निर्माणका सकारात्मक कार्यमा सहयोग पुर्‍याउन तथा भ्रष्टाचार र अनियमितताविरुद्ध सत्यतथ्यका आधारमा आवाज उठाउन नवगठित समितिलाई आग्रह गरिएको छ।

अधिवेशनमा सहभागी भएका गुठीचौर गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक दानबहादुर बुढाले विगतमा विभिन्न दलहरूले लामो समयसम्म शासन गर्दा देश कमजोर बन्दै गएको टिप्पणी गरे। उनले देशलाई सही दिशामा अघि बढाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको बताए।

उनले सचेत युवाहरू अब मौन बस्न नहुने उल्लेख गर्दै देश निर्माण र परिवर्तनका लागि युवाहरू एकजुट भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुपर्ने धारणा व्यक्त गरे। साथै आफू पनि पार्टीको अभियानमा सक्रिय रूपमा लागेको जानकारी दिए।