कनकासुन्दरी गाउँपालिका १ बालविवाहमुक्त वडा घोषणा
जुम्ला : कनकासुन्दरी गाउँपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालविवाह अन्त्य तथा बालअधिकार संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो।
वडा अध्यक्ष भिमबहादुर भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर आचार्य प्रमुख अतिथि तथा उपाध्यक्ष प्रेमकली बुढा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. २ देखि ८ सम्मका वडा अध्यक्षहरू, शिक्षा, स्वास्थ्य तथा महिला विकास शाखाका प्रमुखहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा करिब ५०० स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमको महादेव माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत गीत गाएका थिए । त्यस्तै शिक्षा शाखा प्रमुख जीवन रोकायाले बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि शिक्षा क्षेत्रबाट गरिएका प्रयासबारे जानकारी दिएका थिए ।
त्यस्तै प्रमुख अतिथि दामोदर आचार्यले गाउँपालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त बनाउने अभियानमा सरकारी तथा गैरसरकारी संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले बालविवाह नै बिकासको बाधक मानेका छौ। यसलाई सबैले हातेमालो गरेर न्युनिकरण गर्नु पर्छ । उनले यो अभियान सफल बनाउन प्राविधिक तथा आर्थिक सहयोग पु¥याएको सर्वोदय नेपाल प्रति आभार ब्यक्त गरेको छ।
त्यस्तै वडा अध्यक्ष भिमबहादुर भण्डारीले बालविवाहमुक्त वडा घोषणा सम्पूर्ण समुदायको साझा प्रयासको उपलब्धि भएको बताए । उनका अनुसार बालविवाहले गरिबीको चक्रलाई निरन्तरता दिने गरेको बताए । उनले शिक्षा र सीप विकासबाट वञ्चित भएका बालबालिकाले भविष्यमा रोजगारी तथा आत्मनिर्भरताका अवसर कम पाउने भएकाले परिवार र समुदायको समग्र विकासमा समेत नकारात्मक प्रभाव गर्ने उल्लेख गरे ।
त्यस्तै सर्वोदय नेपाल की अध्यक्ष नारायणी चौलागाईंले कार्यक्रमका अवसरमा उपस्थित सरोकारवालाहरूले बालविवाह अन्त्यप्रति प्रतिबद्धता जनाउँन आग्रह गरेकी छन । उनका अनुसार स्वास्थ्यका दृष्टिले किशोरावस्थामै गर्भधारण हुँदा आमा र शिशु दुवैको स्वास्थ्य जोखिम बढ्ने, कुपोषण, मातृ मृत्युदर तथा शिशु मृत्युदरको सम्भावना उच्च हुने बताइन । चौलागाइले बालविवाहले घरेलु हिंसा, मानसिक तनाव तथा लैङ्गिक विभेदलाई समेत बढावा दिने गरेको बताइन ।
त्यस्तै कार्यक्रममा सबै वक्ताहरूले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र भविष्यमा गम्भीर असर पार्ने बताएका थिए। उनीहरुका कम उमेरमा विवाह गर्दा धेरै बालिकाले विद्यालय छाड्नुपर्ने अवस्था आएको देखिन्छ ।
कनकासुन्दरी गाउँपालिका वडा नं. १ लाई बालविवाहमुक्त घोषणा गरिनु समुदायमा सकारात्मक सामाजिक परिवर्तन, बालअधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।








