कर्णाली प्रति बजेटमा विभेद भएको भन्दै नेकपा नेता नरेश भण्डारीको आक्रोश


जुम्ला : नेपाली कम्युनिस्ट पार्टीका नेता नरेश भण्डारी ले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णालीलाई फेरि उपेक्षा गरिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको “कर्णालीका सुइना हाम्मा सुइना”भन्ने अभिव्यक्तिलाई केवल रंगमञ्चीय संवादको संज्ञा दिएका छन्।

भण्डारीले बजेटको “बाक्लो रातो पुस्तकभित्र कर्णाली फेरि हराएको” उल्लेख गर्दै नयाँ दीर्घकालीन महत्वका आयोजनाहरूले स्थान नपाएको र पुराना रणनीतिक आयोजनाहरूले समेत पर्याप्त बजेट नपाएको बताएका छन्। उनले “बजेट अंकमा देखिनुपर्छ, केवल वक्तव्यमा सीमित हुन हुँदैन” भन्दै कर्णालीलाई व्यवहारिक रूपमा उपेक्षा गरिएको दाबी गरेका छन्।

उनले कर्णाली स्वास्थ्य क्षेत्रमै नयाँ युगतर्फ अघि बढिरहेको उल्लेख गर्दै टेलिमेडिसिनको अभाव झेल्दै आएको प्रदेश अहिले विशेषज्ञ चिकित्सक उत्पादन गर्ने दिशामा अगाडि बढेको बताए। तर सरकारले त्यस सम्भावनालाई समेत नजरअन्दाज गरेको उनको आरोप छ।

नेता भण्डारीले कर्णालीलाई सत्तामा पुग्ने “भर्‍याङ” मात्र नठान्न चेतावनी दिँदै निरन्तरको उपेक्षा र विभेदले कर्णालीमा असन्तोष बढिरहेको बताएका छन्। उनले “मौन कर्णालीलाई विद्रोहको निम्तापत्र दिइएको” टिप्पणी गरेका छन्।

उनले “जेनजी आन्दोलन” का क्रममा देखिएको प्रतीकात्मक विरोधलाई स्मरण गर्दै त्यो केवल कपडाको जुत्ता नभई कर्णालीका युवाहरूको आक्रोश र विभेदकारी सत्ताविरुद्धको प्रतिकार भएको उल्लेख गरेका छन्। भविष्यमा यही असन्तोष थप सशक्त रूपमा प्रकट हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।