गोरु छोडेर हाते ट्याक्टर प्रयोग गर्दै मुगुका कृषक

मुगु :हिमाली जिल्ला मुगु जिल्ला का कृषकहरू पछिल्लो समय कृषि क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिसँगै परम्परागत गोरु जोत्न छोडेर हाते ट्याक्टर तथा अन्य कृषि उपकरण प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। राज्यबाट अनुदानमा कृषि सामग्री उपलब्ध हुन थालेपछि जिल्लामा आधुनिक कृषि औजार प्रयोग गर्ने कृषकको संख्या क्रमशः बढ्दै गएको हो।
मुगुको मुख्य आम्दानी तथा जीविकोपार्जनको आधार खेतीपाती नै हो। विगतमा कृषकहरूले गोरु प्रयोग गरेर खेत जोत्नेदेखि खेतीपाती गर्ने गरेका थिए। तर पछिल्लो समय खेती गर्न कम समय, कम श्रमशक्ति र कम खर्च लाग्ने भएकाले कृषकहरू आधुनिक उपकरण प्रयोगतर्फ उन्मुख भएका छन्।
विशेषगरी जिल्लाको अन्न भण्डार मानिने खत्याड गाउँपालिका क्षेत्रमा खेतीयोग्य जमिन समथर तथा सिँचाइयोग्य भएकाले मिनी टिलर, कम्बाइन मिल, च्यापकटर, झार काट्ने मेसिन, डिजिटल तराजु, बोरा सिलाउने मेसिन तथा आर–सिकेचर लगायतका कृषि उपकरण प्रयोगमा आउन थालेका छन्।
कृषक कर्णबहादुर बानियाँका अनुसार विगतमा खेतबारीमा खेती गर्न गोरु, दाना, घाँस, हलोजुवा लगायतका सामग्री आवश्यक पर्थ्यो भने गोडमेलका लागि धेरै जनशक्ति खर्चिनुपर्थ्यो। “धेरै मेहनत गर्दा पनि उत्पादन कम हुन्थ्यो,” उनले भने, “तर अहिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुले ५० प्रतिशत अनुदानमा उपकरण उपलब्ध गराएपछि खेती गर्न सहज भएको छ। समय बच्ने, जनशक्ति कम लाग्ने र खर्च घट्ने भएकाले आधुनिक उपकरणप्रति कृषकको आकर्षण बढेको हो।
पछिल्लो समय युवाहरू गाउँ छोडेर वैदेशिक रोजगारीतर्फ जाने क्रम बढेपछि गाउँमा उपलब्ध सीमित जनशक्तिलाई उत्पादनमुखी बनाउने उद्देश्यले कृषि यान्त्रीकरणलाई प्राथमिकता दिइएको खत्याड गाउँपालिका–७ का वडा अध्यक्ष गोविन्द्रप्रसाद सन्यालले बताए। उनका अनुसार कृषकहरूको माग बढ्दै गएकाले उपकरण प्रयोग गर्ने तरिका, मर्मत तथा सम्भारसम्बन्धी तालिम र सहजीकरणका लागि वडाबाट समेत पहल भइरहेको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बजेट विनियोजन गरी कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यालयका प्रमुख तेजविक्रम मल्लका अनुसार ५० प्रतिशत अनुदानमा जिल्लाका विभिन्न बस्तीका कृषकलाई १५ वटा मिनी टिलर, ६ वटा कम्बाइन मिल, २ वटा चाप कटर, २ वटा झार काट्ने मेसिन, २ वटा डिजिटल तराजु, ३ वटा बोरा सिलाउने मेसिन गरी ३० वटा मझौला खालका उपकरण वितरण गरिएको छ। साथै दोस्रो चौमासिकमा ४५ थान आर–सिकेचर मेसिन समेत वितरण गरिएको उनले जानकारी दिए।उनका अनुसार पछिल्ला वर्षहरूमा कृषकहरूको कृषि उपकरणप्रतिको माग बढ्दो भए पनि सीमित बजेटका कारण सबै कृषकको माग सम्बोधन गर्न कठिन भइरहेको छ।
पछिल्लो समय मुगुका कृषकहरूले आधुनिक उपकरण प्रयोग गरी खेती गर्न थालेपछि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। कृषकहरूलाई उपकरण मर्मत तथा सम्भारसम्बन्धी तालिम, गोष्ठी र थप अनुदान उपलब्ध गराउन सके जिल्लाको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने स्थानीयको विश्वास छ।








