छुई प्रथा विरुद्ध जुट्यो पातारासी :एक नः वडा छुईगोठमुक्त घोषणा गर्ने तयारी
जुम्लाको पातारासी गाउँपालिका मा वर्षौंदेखि जरा गाडेर बसेको छाउपडी तथा छुई प्रथाविरुद्ध अहिले समुदायमै सकारात्मक परिवर्तन देखिन थालेको छ। महिनावारी भएका बेला महिलालाई गोठमा बस्न बाध्य बनाइने पुरानो चलन विस्तारै अन्त्यतर्फ उन्मुख हुँदै गएको छ। अहिले अधिकांश महिलाहरू महिनावारी हुँदा घरभित्रै सुरक्षित रूपमा बस्ने, सरसफाइमा ध्यान दिने र पोषिलो खाना खाने अभ्यास तर्फ अघि बढिरहेका छन्।
यसैक्रममा पातारासी गाउँपालिकाले वडा नं. १ लाई “छुईगोठ मुक्त वडा” घोषणा गर्ने तयारी तीव्र बनाएको छ। गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, उपाध्यक्ष, वडाध्यक्ष तथा सरोकारवालाको टोलीले सो बस्तीमा पुगेर स्थलगत अनुगमन गरेको हो। गडिगाउँस्थित लालिगुराँस आमा समूह, आरेरुख आमा समूह तथा बुराखसी गैरागाउँ आमा समूहमा गरिएको अनुगमनका क्रममा महिलाहरूमा आएको व्यवहारिक परिवर्तन उत्साहजनक पाइएक रहेको पाईएकोछ ।
लामो समयदेखि मर्यादित महिनावारी तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सर्वोदय नेपाल ले समुदायमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ। सचेतनामूलक कार्यक्रम, छलफल र घरदैलो अभियानका कारण महिलाहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया भनेर बुझ्न थालेका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया ले छाउपडी प्रथाले महिलाको स्वास्थ्य, सम्मान र सुरक्षामाथि गम्भीर असर पार्दै आएको बताइन्। उनले महिनावारी भएका बेला महिलालाई गोठमा राख्ने चलनले मानसिक तनाव, डर, अपमान र विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गरेको उल्लेख गरिन्। महिलाहरू सशक्त भए मात्र समृद्ध समाज निर्माण सम्भव हुने भन्दै उनले महिनावारी भएका बेला पोषिलो खाना खान, नियमित सरसफाइ गर्न र घरभित्रै सुरक्षित रूपमा बस्न आग्रह गरिन्।
त्यस्तै स्वास्थ्य शाखाका प्रमुख रतन बुढाथापा ले महिनावारीका बेला गोठमा बस्ने प्रथाले महिलाहरूलाई विभिन्न रोगको जोखिममा पार्ने बताए। चिसो,असुरक्षित र अस्वस्थ वातावरणमा बस्दा महिलामा पाठेघरसम्बन्धी समस्या, संक्रमण, निमोनिया तथा मानसिक तनावजस्ता समस्या बढ्ने गरेको उनले बताए। कतिपय अवस्थामा सर्पदंश, जंगली जनावरको आक्रमण तथा दम घुटेर मृत्यु हुने घटनासमेत देशका विभिन्न ठाउँमा देखिएको उल्लेख गर्दै उनले छुई प्रथा पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताए।
त्यस्तै शिक्षा शाखाका प्रमुख रामचन्द्र रेग्मी ले महिनावारी महिलाको प्रजनन स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले खानपान, सरसफाइ र सकारात्मक सोच आवश्यक रहेको बताए। उनले छुईगोठमुक्त समाज निर्माणका लागि सबैभन्दा पहिले समाजको सोच परिवर्तन हुनुपर्ने धारणा राखे।
वडाध्यक्ष लालसिंह ऐडी ले पछिल्लो समय गाउँका अधिकांश महिलाहरू महिनावारी हुँदा घरमै बस्न थालेको जानकारी दिए। समुदायमा आएको परिवर्तनले छाउपडी प्रथा अन्त्यतर्फ गाउँ अघि बढिरहेको उनको भनाइ छ ।
स्थानीय महिला तथा किशोरीहरूले पनि पहिले महिनावारी हुँदा गोठमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले परिवार र समुदायको व्यवहार परिवर्तन हुँदै गएको बताएका छन्। उनीहरूका अनुसार अहिले महिनावारीलाई लुकाउनुपर्ने वा अपवित्र मान्नुपर्ने सोच कम हुँदै गएको छ।सर्वोदय नेपालका अनुसार महिनावारी भएका महिलासँगै साना बालबालिकालाई समेत गोठमा राख्ने पुरानो चलनले उनीहरूको स्वास्थ्य र जीवन सुरक्षामा गम्भीर असर पार्दै आएको थियो। यही जोखिम न्यूनीकरण गर्न समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
त्यस्तै वडालाई छुईगोठ मुक्त कार्यक्रम प्रभावकारी गर्नका लागि अनुगमन समिति गरिएको छ। समितिको संयोजकमा गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया रहेकी छन्। भने स्वास्थ शाखा प्रमुख रतन बुढथपा,सदस्य सचिव,महिला तथा बालबालिका शाखा , शिक्षा शाखा र महिला जागरण डटकम सदस्य रहेका छन। सो समितिले समुदायस्तरमा भइरहेको यस्तो अभियानले छाउपडी तथा छुई प्रथा अन्त्य गरी महिलाको स्वास्थ्य, सम्मान, आत्मविश्वास र सुरक्षित जीवन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।












