रारा साइकल लेन अलपत्र, ४२% मात्रै काम,१२ करोड खर्च

मुगु : नेपालकै ठूलो र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारा ताल वरिपरि निर्माणाधीन रारा पर्यटकीय पूर्वाधार (साइकल लेन तथा पदमार्ग) आयोजना निर्धारित समय नजिकिँदै गर्दा अलपत्र अवस्थामा पुगेको छ। निर्माण सम्पन्न हुने म्याद सकिन करिब दुई महिना मात्रै बाँकी रहँदा हालसम्म जम्मा ४२ प्रतिशत काम सम्पन्न भएको छ भने करिब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा ४६ करोड ४२ लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त आयोजना खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले ठेक्कामा लिएको हो। २०७९ असार २४ गतेदेखि सुरु भएको यो आयोजनाअन्तर्गत रारा ताल वरिपरि करिब १४ किलोमिटर साइकल लेन र पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएको थियो।

तर निर्माण कम्पनीको लापरवाहीका कारण पछिल्लो तीन वर्षदेखि आयोजना सुस्त गतिमा अघि बढ्दै आएको छ भने पछिल्ला ६ महिनादेखि काम लगभग ठप्प भएको छ। भौतिक तथा वित्तीय प्रगति दुवै ४२ प्रतिशतमा सीमित हुँदा आयोजना सम्पन्न हुने सम्भावना कमजोर बन्दै गएको छ। यसैबीच, ठेक्का सम्झौतासँग सम्बन्धित ईपीजी (परफर्मेन्स ग्यारेन्टी) को म्याद समेत सकिएको छ।

डिभिजन वन कार्यालय मुगुका प्रमुख दिनेश जंग खत्रीका अनुसार निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न मौखिक तथा लिखित रूपमा पटक–पटक ताकेता गरिएको छ। साथै, स्थानीय सरोकारवाला निकायहरूले स्थलगत अनुगमन गरी मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए।

स्थानीय तहका जनप्रतिनिधिहरूले निर्माण कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएका छन्। छायाँनाथ रारा नगरपालिका–९ का वडा अध्यक्ष बिर्ख बहादुर रोकायाका अनुसार केही स्थानमा निर्माण गरिएको साइकल लेन कमजोर गुणस्तरको पाइएपछि भत्काइएको थियो, तर पुनर्निर्माण अझै पूरा भएको छैन। निर्माणाधीन तथा भत्किएका संरचनाका कारण रारा भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरू लड्ने, चोटपटक लाग्ने समस्या समेत देखिएको छ।

कर्णाली प्रदेशसभा सदस्य मंगल बहादुर शाहीले यो आयोजना प्रदेशकै गौरवको आयोजना भएको उल्लेख गर्दै यसको सुस्त प्रगतिप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार निर्माण कम्पनीको लापरवाहीसँगै डिभिजन वन कार्यालयको कमजोरी र दक्ष जनशक्तिको अभावका कारण समस्या झन् जटिल बनेको छ। यस विषयमा प्रदेश सरकार, मन्त्रालय तथा संसदमा पटक–पटक छलफल भइरहेको र छिटो सम्पन्न गर्न पहल गरिने उनले बताए।

यता निर्माण कम्पनीका प्रतिनिधि खड्क बहादुर तामाङले भने कामअनुसारकै बिल पेश गरिएको दाबी गरेका छन्। उनका अनुसार करिब २ करोड रुपैयाँ भुक्तानी बाँकी रहँदा कार्यालयले रकम दिन आनाकानी गरेकोले कामदार तथा सामग्री आपूर्तिकर्तालाई भुक्तानी गर्न समस्या भएको छ। “सोलिङ, मेसिनरी बेस र पीसीसी गरी करिब २ किलोमिटर काम सम्पन्न भइसकेको छ, अब केही काम मात्रै बाँकी छ,” उनले भने।

कर्णाली प्रदेशमा पटक–पटक बजेट विनियोजन हुने तर कार्यान्वयन कमजोर हुने प्रवृत्तिका कारण रारामा अपेक्षित पूर्वाधार विकास हुन सकेको छैन। नियमनकारी निकायको प्रभावकारी निगरानी अभाव र निर्माण कम्पनीको लापरवाहीले महत्वपूर्ण पर्यटकीय आयोजना अलपत्र परेको देखिन्छ।

समयमै निर्माण सम्पन्न भएमा उक्त साइकल लेन तथा पदमार्गले रारा आउने पर्यटकलाई सहज, सुरक्षित र आकर्षक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।