रारा क्षेत्रमा छैटौं ट्रेल रन बैशाख ३० गते हुँदै, तयारी पूरा

मुगु :नेपालकै सुन्दरतम तालका रूपमा परिचित रारा ताल तथा मुगु जिल्लाको स्थानीय भेषभूषा र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना गरिँदै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको छैटौं संस्करण आगामी बैशाख ३० गते सञ्चालन हुने भएको छ।

नेपाली सेना अन्तर्गत रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको हनुमान ध्वज गुल्म, हुटुले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन बैशाख १० गतेदेखि नै नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ।

पाँच वर्षअघि सुरु गरिएको यस ट्रेल रनले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै यसले स्थानीय समुदाय र नेपाली सेनाबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिइएको छ।

‘एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नारासहित प्रतियोगिता राराताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। बिहान १० बजेदेखि सुरु हुने प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ।

यसका अतिरिक्त १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर दूरीको ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ।

प्रतियोगितालाई पिएलवो, एलीभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका तथा कार्की एग्रोफार्मले प्रायोजन गरेका छन्। जिल्ला बाहिरबाट आउने खेलाडीहरूको बसोबास तथा खानपानको व्यवस्था रारा क्षेत्रका होटल व्यवसायीहरूले गर्ने जनाइएको छ।

कार्यक्रमका अवसरमा नेपाली सेनाद्वारा फोटो प्रदर्शनी, खुकुरी नृत्य प्रस्तुत गरिनेछ भने राष्ट्रिय लोक दोहोरी समाज मुगुले स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ।

प्रतियोगिता अवधिभर प्रत्येक तीन किलोमिटरमा प्राथमिक उपचारका लागि मेडिकल टिम परिचालन गरिनेछ। साथै माथिल्लो क्षेत्रमा एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा रहनेछ। सहभागी प्रत्येक २० जना खेलाडीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको कुल अनुमानित खर्च ७ लाख ५० हजार रुपैयाँ रहेको छ। विजेतातर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैबीच नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष जीवन सेजुवालले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मानस्वरूप प्रमाणपत्र र मेडलको उचित व्यवस्था गर्नुपर्ने बताएका छन्।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बैशाख ३० गते हुने उक्त कार्यक्रममा जिल्लास्थित सबै सरोकारवाला निकायहरूले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्।