जुम्लामाको पातारासीमा मानव अधिकार सम्बन्धी अन्तरक्रिया
जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजनामा “सबैका लागि जीवन, स्वतन्त्रता, मर्यादा, समानता तथा न्याय” विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।मानव अधिकारको अवस्थाबारे त्यहाको सुझाब संकलन गर्ने पातारासी गाउँपालिकाको कार्यालयमा लासी बजारमा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा स्थानीय तहका सरोकारवाला निकाय, जनप्रतिनिधि तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्मार्याले मानव अधिकारको परिचय, यसको आधारभूत मूल्य–मान्यता तथा कार्यान्वयनका पक्षबारे प्रशिक्षण दिएकी थिइन्। उनले मानव अधिकार प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यसको संरक्षणका लागि राज्य र नागरिक दुवैको भूमिका महत्वपूर्ण हुने बताइन्।
त्यस्तै अन्तरक्रियाका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख,गौरी नन्द आचार्य, नागरिकहरू अधिकारप्रति सचेत भए पनि कर्तव्य पालनामा कमजोरी देखिएको औंल्याए। उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले झनै कानुनी दायित्व र उत्तरदायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए। उनले मानव अधिकार आयोगले नागरिकका हक–अधिकार संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
त्यस्तै कार्यक्रममा जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारीले मीन बहादुर रावलले नागरिकहरूले उठाएका जन्मदर्ता र नागरिकतासम्बन्धी जिज्ञासाहरूको जवाफ दिएका थिए। उनले सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न प्रशासन प्रतिबद्ध रहेको जानकारी गराए।
त्यस्तै, पातारासी गाउँपालिकाकी उपाध्यक्ष जुनमाया रोकाया ले मानव अधिकार कार्यान्वयनमा नागरिक स्वयं सचेत हुनुपर्ने बताइन्। उनले विशेषगरी महिला हिंसा र बालविवाह जस्ता सामाजिक समस्यामा पीडित स्वयंले आवाज उठाउनुपर्नेमा जोड दिइन । उनले जनप्रतिनिधि सबै घरमा पुग्न नसक्ने भएकाले नागरिकले सम्बन्धित निकायमा पुगेर न्याय खोज्न आग्रह गरिन्।
पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निशल न्यौपानेले मानव अधिकारको प्रत्याभूति प्रत्येक व्यक्तिले पाउनुपर्ने उल्लेख गर्दै यसको सुरुवात व्यक्तिगत तथा पारिवारिक तहबाटै गर्नुपर्ने धारणा राखे।
स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले स्वास्थ्य सेवामा पहुँच पनि मानव अधिकारको महत्वपूर्ण पक्ष भएको बताए। उनले पातारासी क्षेत्रमा अझै पनि केही सुत्केरी महिलाहरू घरमै सुत्केरी हुने अवस्था रहेको उल्लेख गर्दै सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।
यसैगरी, बाल क्लबका अध्यक्ष निशान ऐडी ले बालबालिकालाई अध्ययनको नाममा अभिभावकबाट टाढा पठाउने प्रवृत्तिले उनीहरूको पारिवारिक वातावरणमा बस्ने अधिकार हनन भएको बताए। उनले बाल अधिकार संरक्षणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागीहरूले मानव अधिकारका विविध पक्षमा आफ्ना धारणा राख्दै स्थानीय स्तरमा देखिएका समस्याहरू समाधानका लागि समन्वय र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।









