कर्णालीमा नदिमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

मुगु : मुगु जिल्लाको सोरु गाउँपालिका ४, रावलवाडा निवासी धनबहादुर मल्लका अन्दाजी १० वर्षीय छोरा आकाश मल्ल कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन्।

आकाश मल्ल चार जना साथीहरूसँग बाख्रा चराउन गएका थिए। मुगु र हुम्ला जोड्ने कर्णाली करिडोर अन्तर्गत पर्ने पिपलमुडा भन्ने स्थानमा उनीहरू नुहाउन नदीमा पसेका थिए। सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्राहरू छोडेर नुहाउन गएका बेला आकाश नदीमा डुबेर बेपत्ता भएका हुन्।

घटनापछि सँगै रहेका तीन जना साथीहरूले स्थानीय बासिन्दालाई खबर गरेका थिए। त्यसपछि परिवार तथा आफन्तहरूले घटनाबारे जानकारी पाएका हुन्।

हाल बेपत्ता आकाशको खोजी कार्य जारी रहेको स्थानीय बासी उब्जन देवकोटाले जानकारी दिएका छन्।