भगवती महिला बचत तथा ऋण सहकारी संस्था २०७५ देखि बन्द, बचतकर्ताको रकम अलपत्र
जुम्ला : जुम्लाको साविक तलिम गाविस (हाल चन्दननाथ नगरपालिका वडा नं. ८ र ९) मा सञ्चालनमा रहेको भगवती महिला बचत तथा ऋण सहकारी संस्था २०७५ सालदेखि पूर्ण रूपमा बन्द भएको छ। २०६३ सालमा स्थापना भएको उक्त सहकारीमा हाल ६ सयभन्दा बढी महिला बचतकर्ता रहेका छन्।
सहकारीमा यश अघि भानुमती बिक र राजकली नेपाली पदाधिकारीमा रहेका थिए। हाल अध्यक्षमा माया खत्री, सचिवमा कमलदेवी रावल र कोषाध्यक्षमा चैती गिरी रहेका छन्। साथै, लेखापालको जिम्मेवारी जुनकली सुनारले सम्हाल्दै आएकी थिइन्।

बचतकर्ताका अनुसार सहकारीमा जम्मा बचत रकम करिब २७ लाख २५ हजार रुपैयाँ रहेको देखिन्छ। तर, कति रकम ऋणका रूपमा लगानी गरिएको छ भन्ने स्पष्ट विवरण छैन। बचतकर्ताहरूले आफ्ना श्रम र दुःखले कमाएको रकमदाउरा, सिमी बेचेर र नयाँ कपडा समेत नकिनी बचत गरेको हाल अलपत्र परेको दुखेसाे छ ।
असोजी कामीको मात्र ७९ हजार रुपैयाँ बचत रहेको भए पनि उक्त रकमको अवस्था अज्ञात छ। उनी मात्र होइनन्, सयौं महिलाहरूको बचत र सेयर लगानी समेत जोखिममा परेको छ। केही बचतकर्ता महिलाहरूको मृत्यु समेत भइसकेको छ भने अपांगता भएका व्यक्तिहरू र एकल महिलाहरूको पनि रकम सोही सहकारीमा अड्किएको छ।
सहकारीको आफ्नै भवन स्थानीय महिलाहरूको श्रमबाट निर्माण गरिएको थियो। उक्त भवनमा आवश्यक सामग्रीहरू जस्तै सोफा, कुर्सी, टेबल आदि समेत उपलब्ध थिए। तर हाल भवन जीर्ण अवस्थामा पुगेको छ र ढोका झ्याल समेत नभई शौचालयका रूपमा प्रयोग भइरहेको स्थानीयले बताएका छन्।
२०७५ सालपछि सहकारी पूर्ण रूपमा बन्द भएपछि चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको थियो। उक्त समितिले अध्यक्ष माया खत्री, लेखापाल जुनकली सुनार लगायत पदाधिकारीलाई बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको भए पनि हालसम्म कुनै कार्यान्वयन भएको छैन।
हाल सहकारीका जिम्मेवार व्यक्तिहरू बचतकर्ताको सम्पर्कमा छैनन्। बचतकर्ताहरूले आफ्नो पसिनाको कमाइ हिनामिना भएको आरोप लगाएका छन्। यस घटनाका कारण धेरै महिला घरेलु हिंसाको सिकार भएका छन् भने कतिपय परिवारमा विवाद समेत बढेको छ।
सहकारीका बचतकर्ता खुम्बिरा भण्डारी भन्छिन्, “हामीले सिमी, स्याउ बेचेर जम्मा गरेको पैसा हो। अहिले पासबुक मात्र छ, कति पैसा जम्मा भएको छ भन्ने समेत थाहा छैन।
महिलाको पसिना र सपना लुट्ने भगवती सहकारीलाई कारबाही कहिले ?
भगवती महिला बचत तथा ऋण सहकारी संस्था यतिबेला चन्दननाथ नगरपालिका ८ र ९ का महिलाको आँसु र पीडाको कारण बनेको छ। २०६३ सालमा स्थापना भएको उक्त सहकारी २०७५ सालदेखि पूर्ण रूपमा बन्द हुँदा बचतकर्ताहरू आफ्नो मेहनतको पैसा फिर्ता नपाएर समस्यामा परेका हुन ।
स्थानीय महिला श्रमिकहरूले दाउरा बेचेर, सिमी बेचेर, यहाँसम्म कि नयाँ कपडा नकिनेर जम्मा गरेको रकम अहिले हराएको अवस्थामा छ।
सहकारीको वर्तमान अध्यक्ष माया खत्री, सचिव कमल देवी रावल र कोषाध्यक्ष चैती गिरी लगायतका पदाधिकारीहरू बचतकर्ताको सम्पर्कमा छैनन्। पूर्व लेखापाल जुनकली सुनार लगायतका जिम्मेवार व्यक्तिहरू पनि बेखबर छन्।
एक समय महिला विकास तथा बालबालिका कार्यालयको सहयोगमा आफ्नै भवन निर्माण गरेको उक्त संस्था अहिले जीर्ण अवस्थामा पुगेको छ। भवनका ढोकाझ्याल हराइसकेका छन् भने अहिले शौचालयको रूपमा प्रयोग भइरहेको छ। संस्थाको सम्पूर्ण सामग्रीसमेत गायब भएको छ।
बचतकर्ताहरूका अनुसार उनीहरूको पसिना र श्रमको कमाइ हिनामिना भएको छ। धेरै महिला श्रमिक, एकल महिला, अपांगता भएका व्यक्तिहरूको समेत रकम उक्त सहकारीमा फसेको छ। बचत फिर्ता नहुँदा कतिपय परिवारमा झगडा र घरेलु हिंसा समेत बढेको छ।
यस्तो अवस्थामा स्थानीय सरकार, सहकारी विभाग र सम्बन्धित निकायहरूले तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक देखिन्छ। सहकारीको नाममा ठगी गर्ने प्रवृत्तिलाई रोक्न कडा कदम चालिनु जरुरी छ।
पीडित महिलाहरू न्यायको पर्खाइमा छन्। उनीहरूको पसिना र सपना फिर्ता गराउने जिम्मेवारी राज्यको हो। यदि यस्ता घटनामा कारबाही नहुने हो भने भविष्यमा अझ धेरै सर्वसाधारण नागरिक ठगिने खतरा बढ्ने निश्चित छ।
सहकारी भनेको विश्वासको संस्था हो। तर जब त्यही संस्था ठगीको माध्यम बन्छ, त्यो केवल आर्थिक मात्र होइन सामाजिक अपराध पनि हो। अब समय आएको छ।पीडित महिलाहरूको आवाज सुन्ने र दोषीलाई कारबाही गर्नका लागी सराेकारवालाहरुकाे जिम्मेवारी पनि छ। यस सहकारी संस्थाका बचत कर्ताले जुम्लाका सरोकारवालाहरु संग आफ्नो हिनामिना भएको बचत फिर्ता गराइदिनका लागी माग गरेका छन ।










