अर्थमन्त्री वाग्लेको सम्पत्ति : दुई ठाउँमा अपार्टमेन्ट, ९ ठाउँमा जग्गा र साढे ४ करोडभन्दा धेरै शेयरमा लगानी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारकार अर्थमन्त्री स्वणीम वाग्लेको सम्पत्ति ललितपुर र काभ्रेमा १० करोड ७५ लाख रुपैया बराबरका अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र शेयरमा ठूलो लगानी देखिएको छ । यस्तै उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको सार्वजनिक गरेको सम्पति विवरणमा उल्लेख छ ।
वाग्लेको नाममा तनहुँको बन्दिपुरमा २ करोड रुपैयाँ बराबरको ३ रोपनी ३ आना जग्गा रहेको छ । यसैगरी तनहुँको भानु नगरपालिकामा वाग्लेको नाममा ८ लाख ५० हजार रुपैयाँ बराबरको ६ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्लेले आफ्नो र श्रीमतीको गरी कुल ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्, भने हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टड बैंकमा गरी १ करोड ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्ले विभिन्न कम्पनीहरूको शेयर खरिद बापत ४ करोड १० लाख रुपैयाँ लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सानिमा मिडल तमोर हाइड्रो र सांग्रिला विकास बैंकको क्रमशः ७१ हजार ९३ कित्ता र २५ हजार ७६२ कित्ता शेयर रहेको जनाएका वाग्लेले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ बराबरको, ठूलो खोलामा ६० लाख रुपैयाँ बराबरको र अपर मादी खोला हाइड्रोपावरमा ३ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख गरेका छन् ।








