दियालो सहकारीले गर्यो ६ महिना भित्र बचत फिर्ता गर्ने निर्णय

जुम्ला : दियालो सहकारी संस्थाले बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय, वीरेन्द्रनगर सुर्खेतका रजिष्ट्रार खिमानन्द अर्यालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहकारीको वर्तमान अवस्था, कर्जा असुली, बचत फिर्ता तथा आर्थिक व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। सोही क्रममा कर्जा असुली लगायत अन्य स्रोतबाट प्राप्त हुने रकमलाई व्यवस्थित गरी बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई सहजिकरण गर्न एक समिति गठन गरिएको छ। उक्त समितिले आवश्यक मापदण्ड तयार गरी सोही आधारमा बचत फिर्ता प्रक्रिया अघि बढाउनेछ।
निर्णय अनुसार दियालो सहकारीले अबको ६ महिनाभित्र बचतकर्ताहरूको बचत फिर्ता गर्ने लक्ष्यसहित कार्ययोजना बनाउनेछ। साथै कर्जा असुली कार्यलाई प्रभावकारी बनाउन स्पष्ट समयसीमा र जिम्मेवारी निर्धारण गरी सञ्चालन गरिने जनाइएको छ।
बैठकमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कालि बहादुर महतारा, दियालो सहकारीका अध्यक्ष टेक बहादुर शाही, व्यवस्थापक दिपक शाह लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहकारीले आगामी दिनमा पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राखी कार्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यस निर्णयसँगै दियालो सहकारीप्रति बचतकर्ताहरूको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ।








