जुम्लाको दुर्गा मावि लाम्रा केन्द्रमा एसईईकाे उत्तरपुस्तिका हराउने केन्द्राध्यक्ष र निरीक्षक निस्कासित
जुम्ला: चैत १९ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनमै जुम्लाको दुर्गा मावि, लाम्रा परीक्षा केन्द्रमा गम्भीर विवाद उत्पन्न भएको थियाे । अंग्रेजी विषयको परीक्षा सञ्चालनकै क्रममा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको घटनाले परीक्षा प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको थियाे।
प्राप्त विवरणअनुसार सिम्बल नम्बर ०६३००५१५ (M) भएकी एक छात्राले नियमित तर्फकी परीक्षाथी थिइन्। परीक्षा सकिएपछि हाजिरी तथा उत्तरपुस्तिका गणना गर्दा एक कापी कम भेटिएको थियो। निरीक्षक हरिदेवी रावलले सबै उत्तरपुस्तिका संकलन गरेर बुझाएको दाबी गरेकी थिइन् भने सम्बन्धित छात्राले पनि आफूले कापी बुझाएको बताएकी थिइन्।
तर उत्तरपुस्तिका तत्काल फेला नपरेपछि घटना झन् रहस्यमय बन्यो। आरोपअनुसार, परीक्षा केन्द्रले ती छात्रालाई पुनः बोलाएर केन्द्राध्यक्षको उपस्थितिमा बन्द कोठामा राखी पुनः उत्तर लेख्न लगाएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो।
यस घटनालाई लिएर “उत्तरपुस्तिका हरायो अनि फेरि कसरी भेटियो भन्ने शीर्षकमा शुक्रबार महिला जागरण अनलाइनमा समाचार प्रकाशित भएकाे थियाे।
त्यस लगत्तै शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रछाने लोहार,(रमेश ) सशस्त्र प्रहरीका एसएसपी दीप राज बोहोरा लगायतको टोलीले शनिबार स्थलगत अनुगमन गरेको थियो। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष दीपक पौडेलको अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो।
बैठकले प्रारम्भिक अनुसन्धानका आधारमा परीक्षा केन्द्राध्यक्ष मुकुन्द शर्मा र निरीक्षक हरिदेवी रावललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हाे । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार विद्यार्थीको भविष्य सुरक्षित राख्न यस्तो कदम चालिएको बताए ।
उनका अनुसार दुर्गा मावि लाम्राका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नयाँ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। साथै, सिट प्लानिङमा भएको सम्भावित लापरबाहीबारे पनि थप छानबिन गरिएकाे पाईएकाे छ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोहारले विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले दोषी देखिएकामाथि कारबाही गरिएको स्पष्ट पारे। उनले अब परीक्षा अवधिभर विवादरहित शिक्षकहरूलाई मात्र केन्द्रमा खटाइने र विवादमा मुछिएका व्यक्तिलाई जिम्मेवारी नदिइने बताए।समाचारमा नाम आएका तथा विवादमा मुछिएका निमावितहका अंग्रेजी बिषयका शिक्षक टेक बहादुर राेकाया लाई परीक्षा अवधिभर कुनै जिम्मेवारी नदिने र परीक्षा केन्द्रमा प्रवश निषेध गरिएकाे शिक्षा बिकास तथा समन्वय ईकाई जुम्लाले जनाएकाे छ ।
दुर्मा मावि परीक्षा केन्द्रकाे यस घटनाले जुम्लाका अन्य परीक्षा केन्द्रहरूलाई समेत थप जिम्मेवार र सतर्क बन्नुपर्ने सन्देश दिएको छ।







