नाग्म देखी देवारगाउँ सम्म १५ किमि सडक कालोपत्रेका लागि ९१ करोडको बहुवर्षीय ठेक्का आह्वान
जुम्ला:सडक डिभिजन जुम्ला ले नाग्मदेखि देवार गाउँसम्म १५ किलोमिटर सडक उच्चस्तरीय Asphalt Concrete सहित कालोपत्रे गर्न ९१ करोड रुपैयाँ बराबरको बहुवर्षीय योजना अन्तर्गत ठेक्का आह्वान गरेको छ। मिति २०८२–११–१७ मा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत निर्माण कम्पनीहरूबाट प्रस्ताव मागिएको हो।
उक्त खण्ड गमगढी लाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो। २०६९ सालमा सदरमुकाम गमगढी राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि पछिल्ला १३ वर्षमा सामान्य स्तरोन्नतिबाहेक नागरिकले अनुभूति गर्ने गरी काम हुन नसकेको स्थानीयको गुनासो छ। अब भने नाग्म–देवार खण्डमा उच्चस्तरीय कालोपत्रे, संरचनागत सुधार र आवश्यक सहायक संरचना निर्माण गरिने जनाइएको छ।
यो सडक उत्तरी नाका चीनको नाक्चेलाग्नासम्म पहुँच सुदृढ गर्ने, देशको महत्वपूर्ण पर्यटकीय गन्तव्य रारा ताल, धार्मिक–पर्यटकीय क्षेत्र छायाँनाथ तथा ऐतिहासिक खस सभ्यताको धरोहर सिँजा उपत्यका जोड्ने रणनीतिक मार्गका रूपमा हेरिएको छ।
सडक डिभिजन जुम्लाका प्रमुख शरण कुमार महताराका अनुसार ९१ करोड रुपैयाँको यो योजना बहुवर्षीय हुनेछ। ठेक्का प्रक्रिया सम्पन्न भएसँगै निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइनेछ।
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री माधव प्रसाद चाैलागाईं को पहलमा बजेट व्यवस्थापन भएको हाे । स्थानीय सरोकारवालाले यस योजनाले कर्णालीको आवागमन, पर्यटन, व्यापार तथा सेवा–सुविधामा ठोस सुधार ल्याउने अपेक्षा गरेका छन्।
ठेक्का आह्वान
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको सडक डिभिजन जुम्ला ले नाग्मदेखि देवार गाउँसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नति तथा कालोपत्रेका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।
२०८२ साल फागुन १७ गते प्रकाशित सूचना अनुसार नाग्म (चेन ०+०००) देखि देवार गाउँ (चेन १५+०००) सम्मको खण्डमा संरचनागत कामसहित उच्चस्तरीय Asphalt Concrete प्रविधिबाट कालोपत्रे गरिनेछ। यो सडक नाग्म–गमगढी (NH–60) सडक खण्ड अन्तर्गत पर्छ, जसले गमगढी लाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छ।
यस आयोजनाका लागि बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ भने बोलपत्र सुरक्षा रकम २ करोड रुपैयाँ राखिएको छ। औसत वार्षिक निर्माण कारोबार ४८८ मिलियन रुपैयाँ र बोलपत्र क्षमता ६७७ मिलियन रुपैयाँ तोकिएको सूचनामा उल्लेख छ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ चैत १७ गते दिउँसो १२ बजे सम्म र सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने जनाइएको छ।
सडक डिभिजन जुम्लाका अनुसार उक्त खण्ड बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिनेछ। २०६९ सालमा मुगुको सदरमुकाम गमगढी राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि पछिल्लो १३ वर्षमा सामान्य स्तरोन्नतिबाहेक उल्लेखनीय काम हुन सकेको थिएन। अब उच्चस्तरीय कालोपत्रे निर्माणसँगै यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।
यो सडक उत्तरी नाका चीनको नाक्चेलाग्ना जोड्ने मार्गका रूपमा महत्वपूर्ण छ भने देशकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल, धार्मिक क्षेत्र छायाँनाथ तथा ऐतिहासिक धरोहर सिँजा उपत्यका सम्मको पहुँच सुदृढ गर्ने विश्वास लिइएको छ।








