नरेश भण्डारीको संकल्प पत्र : दया होइन अवसर, आश्वासन होइन परिणाम,समृद्ध जुम्ला -सुरक्षित भविष्यका लागि स्पष्ट मार्गचित्र
जुम्ला : कर्णालीको मुटु जुम्ला जिल्ला केवल भौगोलिक क्षेत्र होइन, यो नेपाली भाषा, खस सिन्जा सभ्यता, रैथाने कृषि र हिमाली स्वाभिमानको धरोहर हो। यही ऐतिहासिक जिम्मेवारीलाई आत्मसात गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले “दया होइन,अवसर, उपेक्षा होइन न्याय, आश्वासन होइन परिणाम”भन्ने मूल मन्त्रका साथ समृद्धिको संकल्प–पत्र सार्वजनिक गर्नुभएको छ।
अधिकारमुखी नीति र संरचना निर्माण
जुम्ला र कर्णालीमैत्री कानुन निर्माण गरी संसदमार्फत अधिकार स्थापित गर्ने स्पष्ट अठोट लिइएको छ। मानव विकास सूचकांक, भूगोल र जनसंख्याका आधारमा समतामूलक बजेट विनियोजनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
खस सिन्जा सभ्यताको संरक्षण
ऐतिहासिक सिन्जा उपत्यकाको सभ्यता संरक्षणका लागि ‘सिन्जा सभ्यता विधेयक’ पारित गर्ने पहल गरिनेछ। जुम्लालाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने बहसलाई राष्ट्रिय स्तरमा उठाइनेछ।
पूर्वाधारमा विशेष दशक
कर्णाली पूर्वाधार विशेष दशक घोषणा गरी सुर्खेत–जुम्ला, जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ लगायतका रणनीतिक सडक सञ्जाल स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। जुम्ला–जाजरकोट सुरुङमार्ग निर्माणका लागि पहल गरिनेछ भने गाउँपालिका केन्द्रसम्म पक्की सडक विस्तार गरिनेछ।
आत्मनिर्भर अर्थतन्त्रको आधार
कृषि, पर्यटन, जलस्रोत र संस्कृतिमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ। स्याउ, ओखर, कोदो, फापर, मार्सी धानजस्ता रैथाने उत्पादनको बजार सुनिश्चितता, “एक पालिका–एक कोल्डस्टोर” र “एक वडा–एक संकलन केन्द्र” कार्यक्रममार्फत किसानको आम्दानी वृद्धि गरिनेछ।
स्वास्थ्य क्रान्ति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति, डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण, सिन्जा हिमा क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना तथा स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने योजना अघि सारिएको छ। गर्भवती, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
शिक्षा र जनशक्ति विकास
गुणस्तरीय तथा रोजगारीमूलक शिक्षा, पर्वतीय विश्वविद्यालय स्थापनाको पहल, प्राविधिक शिक्षालय स्तरोन्नति र विदेशमा अध्ययनरत विद्यार्थीको समकक्षता समस्या समाधानका लागि नीतिगत सुधार गरिनेछ।
ऊर्जा र सिँचाइमा आत्मनिर्भरता
मेगावाट क्षमताको तिला–जवा जलविद्युत आयोजना तथा जवा र हिमा नदी क्षेत्रमा थप आयोजना निर्माणका लागि पहल गरिनेछ। नदीको पानीद्वारा डाँडापाखामा बृहत् सिँचाइ प्रणाली विस्तार गरिनेछ।
पर्यटन र सांस्कृतिक
कनकासुन्दरी, पातारासी हिमाल लगायतका क्षेत्रहरूको गुरुयोजना निर्माण गरी धार्मिक–सांस्कृतिक पर्यटन विकास गरिनेछ। हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर र गुठीचौर बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिइनेछ।
डिजिटल जुम्ला
जिल्लाव्यापी फोरजी इन्टरनेट विस्तार, डिजिटल शिक्षा र सञ्चार पहुँच सुदृढीकरणमार्फत आधुनिक जुम्ला निर्माण गरिनेछ।
युवा, रोजगारी र उद्यमशीलता
“एक घर–एक उद्यमी” अभियान सञ्चालन गर्दै कृषि, पर्यटन र प्रविधिमा आधारित रोजगारी सिर्जना गरिनेछ।
“आइडिया लिएर आउ, पैसा लिएर जाउ” अवधारणाअनुसार युवा नवप्रवर्तन विधेयक पारितिका लागि पहल गरिनेछ। प्रत्येक पालिकामा रंगशाला निर्माण गरी खेलकुद प्रवर्द्धन गरिनेछ।
महिला, दलित र पछाडि परेका समुदाय
महिला उद्यमशीलता प्रवर्द्धन, दलित समुदायको सीप विकास तथा समान अवसर र सम्मान सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता जनाइएको छ।
सुशासन र पारदर्शिता
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, जनप्रतिनिधिको वार्षिक सार्वजनिक लेखाजोखा र जनताको निगरानीमा शासन सञ्चालन गरिनेछ। सुलभ, शीघ्र र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गरिनेछ।
यो संकल्प–पत्र केवल घोषणापत्र होइन, परिणाममुखी कार्ययोजना हो। जुम्लालाई मातृ तथा दातृ जिल्लाका रूपमा स्थापित गर्दै आत्मनिर्भर, समृद्ध र सुरक्षित भविष्य निर्माण गर्ने अठोटसहित नरेश भण्डारी चुनावी मैदानमा हुनुहुन्छ।








