जुम्लामा भण्डारी सहित १० जनाको उम्मेदवारी दर्ता
जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगको तालिकाअनुसार माघ ६ गते मनोनयन दर्ता गर्ने क्रममा विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवार र १ जना स्वतन्त्र गरी जम्मा १० जनाको उम्मेदवारी परेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट नरेश भण्डारी, नेपाली कांग्रेसबाट दीपबहादुर शाही तथा नेकपा (एमाले) बाट शान्तिलाल महतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट बिर्षबहादुर रावत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बिर्खबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल विक्रम शाहीको उम्मेदवारी परेको छ। साथै, जुम्लामा भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार अब उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध र अन्तिम नामावली सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्ने जनाएको छ।









