नेपाली कम्युनिस्ट पार्टी,जुम्लाका उम्मेद्वार,भण्डारी (क्षितिज)लाई,शहीदका सन्तानको पत्र
लाल सलाम !
माओवादी जनयुद्धको गर्जनसँगै जुम्लाको माटोबाट पहिलो पटक रगत बगाएर बलिदान दिने शहीद दुर्गबहादुर शाही र शहीद रकम शाहीका एकल सन्तानको तर्फबाट, साथै नेपाली जनताको पसिना र रगतले लेखिएको संविधानको रक्षा, उत्पीडित वर्गको न्याय, र नयाँ पुस्ता (Gen-Z) को मनोभावनालाई आत्मसात् गर्ने नेतृत्वप्रति गहिरो सम्मानसहित यो पत्र लेख्दैछु।
कमरेड क्षितिज,
पहिलो संविधानसभा निर्वाचनमा विजय हासिल गरेपछि तपाईंले हाम्रो विद्यालयमा दिनुभएको भाषण आज पनि स्मृतिमा ताजा छ।“यदि जुम्लाको आवाज सिंहदरबारले सुनेन भने आत्मदाह गर्छु।आज करिब १८ वर्षपछि, जुम्लाको आवाज सिंहदरबारले चाहँदा–नचाहँदा पनि सुन्न बाध्य भएको अनुभूति हुन्छ। त्यो आवाज तपाईंको पहलमा अघि बढेका विकास र समृद्धिका योजनाहरूले बोलेका छन्। त्यसैले आज मलाई मेरा बुवा र काका गुमाउनुको पीडा र हीनता होइन, गर्वको अनुभूति हुन्छ।
जब–जब म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँगनमा पाइला टेक्छु, मलाई मेरा बुवाको रगतको बास्ना महसुस हुन्छ।
जतिबेला जुम्ला चुकेनीको विद्युत् उज्यालोले चम्किन्छ, मेरा बुवाका नयन खुलेको जस्तो लाग्छ।
र जतिबेला नेपालको संविधानमा उत्पीडित वर्गको पक्षमा लेखिएका अक्षरहरू पढ्छु, मेरा बुवा र काकाको इतिहास पल्टाइरहेको अनुभूति हुन्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो ऐतिहासिक उपलब्धि, धौलिघाट खानेपानीजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको योजना, चुकेनी र तिला हाइड्रोपावरजस्ता आत्मनिर्भर कर्णालीका आधारशिला, सिंजा सभ्यता विधेयकजस्तो इतिहास र पहिचान जोगाउने दूरदर्शी पहल, तथा जुम्लामा माउन्टेन विश्वविद्यालयको परिकल्पनाले तपाईंलाई केवल उम्मेद्वार मात्र होइन, भविष्यको दिशा देखाउने वैचारिक नेतृत्वका रूपमा स्थापित गरेको छ।
जनयुद्धमा शहीदहरूले बगाएको रगत कुनै पद, कुर्सी वा व्यक्तिगत स्वार्थका लागि थिएन।त्यो रगत शोषणविहीन समाज, समानता, न्याय र स्वाभिमानका लागि थियो।
आजको पुस्ता नाराभन्दा समाधान खोजिरहेको छ, भावनाभन्दा परिणाम चाहिरहेको छ, र विचारको स्पष्टता मागिरहेको छ। तपाईंका योजना र दृष्टिले Gen-Z पुस्ताको यही चेतनालाई सम्बोधन गर्छ भन्ने गहिरो विश्वास हामीले गरेका छौँ।
अब जुम्ला केवल पिछडिएको जिल्लाको रूपमा होइन, चेतना, शिक्षा, ऊर्जा र इतिहासको केन्द्रका रूपमा उभिनुपर्छ।शहीदको सपना यही थियो—कर्णालीले आफैँ आफ्नो भविष्य लेखोस्।
त्यो सपना साकार पार्ने जिम्मेवारी आज तपाईं जस्ता वैचारिक, इमानदार र संघर्षशील नेतृत्वको काँधमा आएको छ।मलाई पूर्ण विश्वास छ,तपाईंको विजय केवल व्यक्तिगत सफलता होइन,त्यो शहीदको रगतको सम्मान हुनेछ,
उत्पीडित वर्गको आवाज हुनेछ,र नयाँ पुस्ताको आशाको उज्यालो हुनेछ।यस ऐतिहासिक यात्रामा तपाईंलाई हार्दिक शुभकामना।
मनोज कुमार शाही
हिमा गाउँपालिका–४, जुम्ला








