कर्णालीमा नेपाल एयरलाइन्सको सेवा अस्तव्यस्त : जहाजमै कार्यालय, यात्रु अलपत्र
जुम्ला । कर्णालीमा सञ्चालन हुने नेपाल एयरलाइन्सको टुईनेटर जहाज काठमाडौंमा बास बस्ने प्रथाले यात्रुहरूलाई गम्भीर समस्या भएको छ। प्राविधिक कर्मचारीको दरबन्दी सुर्खेतमा कायम नगरेकाले जहाजमै कार्यालय सञ्चालन गर्नुपर्ने र सिट रिजर्भ राख्नुपर्ने बाध्यता कायम रहँदा यात्रुहरूले टिकट पाउनै मुस्किल परिरहेको छ।काठमाडौंबाट ढिलो प्रस्थान तथा मौसमी प्रतिकूलताका कारण झनै उडान रद्द हुने क्रम बढेपछि जुम्ला, हुम्ला, मुगु जस्ता दुर्गम जिल्लाका यात्रुहरू नियमित रूपमा अलपत्र पर्न थालेका छन्। विशेष गरी विहिवार र आइतबार जहाज नआएर उडान रद्द हुने गरेको देखिन्छ।
यात्रुहरूका अनुसार दिउँसो मौसम प्रतिकूलताका कारण उडान स्थगित हुनु सामान्य हो तर बिहान १० बज्न नपाउँदै जहाज काठमाडौंबाटै नआउँदा रद्द हुने परिपाटीले यात्रुहरू मारमा परेका छन्। जहाज आइतबार रुकुम हुँदै नेपालगञ्ज आउने भए पनि यस हप्ता काठमाडौंमै अड्किएको कारण कर्णालीका धेरै उडान रद्द भएका छन्।आइतबार जुम्लाबाट सुर्खेत जाने टिकट काटेका राष्ट्रिय मानव अधिकार आयोगका नायब सुब्बा राजकुमार विश्वकर्माले काठमाडौंमै जहाज रोकिनु र उडान रद्द हुनु अन्यायपूर्ण भएको प्रतिक्रिया दिए। उनका अनुसार जहाज नेपालगञ्जमा बास बसेको भए दिउँसो २–३ बजेतिर पनि उडान सम्भव थियो। तर काठमाडौंबाट उडान गर्न खोजेपछि यात्रु मात्र हैरान भएका छैनन्, सेवा नै अवरुद्ध बन्छ।यात्रीहरूका माग अनुसार कर्णालीका जिल्लामा सेवा पुर्याउने जहाज काठमाडौंमा होइन नेपालगञ्ज वा सुर्खेतमा बास बस्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
गत साउनदेखि नेपालगञ्ज जुम्ला सुर्खेत उडान भइरहे पनि सुर्खेतमा प्राविधिक कर्मचारीको दरबन्दी नभएकाले जहाजमै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता देखिएको छ।प्राविधिक कर्मचारी जहाजमै सधैं यात्रा गर्न बाध्य छन । जहाजकै कर्मचारी सिट चाहिने भएकाले यात्रुका लागि सिट कम हुने गरेको हो ।
यसले राज्यको बजेट अनावश्यक खर्च भएको देखिन्छ।नेपाल एयरलाइन्स नेपालगञ्ज प्रमुख यमबहादुर सिंहका अनुसार प्राविधिक दरबन्दी तथा जहाज बास बस्ने विषय नीतिगत तहको भएकाले आफूहरूको मातहतमा नरहेको बताए। उनले नेपालगञ्जमा जहाज नबस्दा टिकट निश्चित नभई यात्रुहरूलाई समस्या पर्नु स्वाभाविक भएको उल्लेख गरे।त्यस्तै, जुम्ला प्रमुख उमाकान्त न्याैपानेले रद्द हुँदा टिकट काटिसकेका यात्रुहरूलाई सम्झाउनै कर्मचारीहरूलाई समस्या पर्ने बताए।
नेपाल नागरिक उडान कार्यालय जुम्लाका अनुसार हिउँदमा कुहिरोका कारण उडान रद्द भएको हो।
तर यात्रुहरू भन्छन्,मुख्य समस्या मौसमी होइन, जहाज काठमाडौंबाट ढिलो आउने हो।उनिहरुले सुधारका लागि माग गरेका छन ।प्राविधिक कर्मचारीको दरबन्दी सुर्खेतमा कायम,जहाज नेपालगञ्जमा बास बस्ने व्यवस्था हुनु पर्ने उनिहरुको माग छ ।कर्णालीजस्तो हवाई यातायातमा निर्भर भूभागमा जहाज काठमाडौंमै राखेर सेवा दिन खोज्नु यात्रुमैत्री नभएको सेवाग्राहीहरूको टिप्पणी छ









