जुम्लामा यातायातको नयाँ भाडादर चाँडै निर्धारण हुने:प्रजिअ दिपक पौडेल
जुम्ला: जुम्लामा स्थानीय यातायात सेवाको नयाँ भाडादर निर्धारण गर्न प्रारम्भिक प्रक्रिया सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिपक पौडेलका अनुसार, सहुलियत भाडाको माग गर्दै सेवाग्राहीबाट व्यापक गुनासो आएपछि जिल्लास्तरीय समितिले भाडादर पुनरावलोकनको काम अघि बढाएको हो।
एक साताअघि जुम्ला प्रदेशसभा क्षेत्र (ख) का स्थानीय अगुवाहरूले जुम्ला बजारबाट सञ्चालन हुने यातायात सेवाको भाडा महँगो भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए। सोही आधारमा पटक–पटक छलफल हुँदै आएको र हालको सडक अवस्था, साधन रोकिने अन्तरस्थानको दूरी लगायत विभिन्न पक्षको मूल्याङ्कन गरी भाडादर निर्धारण प्रक्रिया अघि बढाइने प्रजिअ पौडेलले जानकारी दिनुभयो।
शुक्रबार भाडादरका विषयमा प्रमुख जिल्ला अधिकारी पौडेल, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र स्थानीय सरोकारवालाबीच छलफल सम्पन्न भएको छ। छलफलमा प्रजिअ पौडेलले सोमबार प्रतिनिधिमूलक सर्वपक्षीय तथा राजनीतिक दलहरूको बैठक बोलाई सुझाव संकलन गरिने र त्यसका आधारमा समितिको बैठकबाट प्रारम्भिक मस्यौदा तयार गरी निष्कर्षमा पुगिने बताउनुभयो। सो कार्यका लागि मातहतका कार्यालय तथा निकायलाई निर्देशन दिइसकिएको उहाँले जनाउनुभयो।
प्रजिअका अनुसार सोमबार पुस ७ गते जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, जुम्लामा सञ्चालनमा रहेका यातायात तथा टेम्पो व्यवसायी, ध्यानाकर्षण गराउने सेवाग्राही प्रतिनिधि, नागरिक समाज र पत्रकारसहित सरोकारवाला निकायको उपस्थितिमा छलफल आयोजना हुनेछ।
सो छलफलबाट प्राप्त सुझाव भाडादर निर्धारण समितिलाई पेस गरिनेछ। त्यसपछि समितिको बैठक बसेर जुम्ला जिल्लाको नयाँ यातायात भाडादर कायम गरिनेछ। यो सम्पूर्ण प्रक्रिया कम्तीमा पुस १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित उपसमितिलाई निर्देशन दिइएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।
यातायात व्यवस्था कार्यालयका अनुसार जुम्लामा पछिल्लो पटक २०७८ सालमा भाडादर निर्धारण गरिएको थियो। तर उक्त भाडादर कार्यान्वयन नभएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका छन्। नयाँ भाडादर कार्यान्वयन नहुँदासम्म पुरानै दर लागू गराउन प्रशासन, यातायात तथा ट्राफिक कार्यालयले प्रभावकारी निगरानी गर्नुपर्ने माग सेवाग्राहीको छ।
हिमा गाउँपालिका–१ निवासी हर्षबहादुर शाहीले नयाँ भाडादर कार्यान्वयन नहुँदा यात्रुहरू मारमा परिरहेको बताउनुभयो








