मुगुमा सुत्केरी सुनिताको ज्यान गयो
मुगु – सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरीपछिको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको छ।
बुधबार बिहान करिब ११ बजे घरमै छोरा जन्माएकी बुढाको सालनाल नझरेपछि उनलाई परिवारले एक घण्टाको दूरीमा रहेको सिप प्रसूति केन्द्र पुर्याएका थिए। अत्यधिक रक्तस्राव भएपछि प्रसूति केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल लैजान सल्लाह दिएको थियो। त्यसपछि उनलाई राति १० बजे जिल्ला अस्पताल पुर्याइए पनि बिहीबार बिहान करिब ३ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
उपचारमा संलग्न डाक्टर नहकुल शाहीका अनुसार अस्पतालमा पुर्याउँदा बुढाको शरीरमा जम्मा दुई प्वाइन्ट मात्र रगत बाँकी थियो। तत्कालै रगत आवश्यक भए पनि जिल्ला अस्पतालमा ब्लड बैंक नभएकाले कठिनाइ भएको उनले बताए। अस्पतालका चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत रगत दानको अपिल गरेपछि सदरमुकाम गमगढीका युवाहरूले पाँच प्वाइन्ट रगत दान गरेका थिए।
यसअघि पनि एक वर्षअघि सुनिता घरमै गर्भपतन भएपछि अत्यधिक रक्तस्रावका कारण जिल्ला अस्पताल उपचारका लागि पुगेकी थिइन्। त्यतिबेला चिकित्सकहरूले आवश्यक रगत चढाई जीवन बचाएका थिए। साथै, स्वास्थ्य संस्थामै आएर प्रसूति गर्न र चिकित्सकको सल्लाह बिना औषधि नखान सचेत गराएर घर फर्काइएको जिल्ला अस्पतालले जनाएको छ।
डाक्टर शाहीका अनुसार सोरु गाउँपालिकामा प्रसूति केन्द्र रहेका भए पनि स्थानीयहरू अझै पनि घरमै सुत्केरी गर्ने गरेका कारण यस्ता जटिलता देखिने गरेका छन्।
जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीले बुढालाई ल्याउँदासम्म सालनाल नझरेको र अत्यधिक रक्तस्रावका कारण बेहोस रहेको बताए। रगत चढाइएपछि केही समय होसमा आएकी उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत बाहिर पठाउने तयारी भइरहेकै बेला मृत्यु भएको उनले बताए।
सुनिताबाट जन्मिएको नबालक शिशु भने अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा जिल्ला अस्पतालमै राखिएको नगरकोटीले जानकारी दिए ।








