भेडाको वथानमा चट्याङ :दुईसय भेडा मरे,गोठाला गम्भीर घाईते

घाईते उद्दारको लागि हेलिकोप्टरको माग

जुम्ला : जुम्लामा भेडाको वथानमा चट्याङ लागेको छ । एक उच्च हिमाली पाटनमा चट्याङ पर्दा एक जना भेडागोठाला गम्भीर घाइते भएका छन् भने दुई सय भेडा मरेका छन् ।
जिल्लाको गुठिचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाका पाटनमा सोमबार दिउँसो साढे ४ बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सिंजा गाउँपालिका–६, भाडगाउँका ५२ वर्षीय धनबहादुर रावत गम्भीर घाइते भएको खबर आएको छ । प्र्रत्यक्षदर्शी स्थानीय गोविन बुढाका अनुसार, घाइते रावत अचेत अवस्थामा छन् । घाईतेको नाक तथा मुखबाट निरन्तर रगत बगिरहेको छ । चट्याङको झट्काले उनको शरीरका कपडासमेत च्यात्तिएको छ ।

प्रत्यक्षदर्शी बुढाका अनुसार ‘दिउँसो असिना परेको थियो । भेडाहरू एकै ठाउँमा जम्मा भएको बेला चट्याङ परेको हो ।’ उक्त पाटनमा ६ जना किसानले सामूहिक रूपमा चराउन लगेका करिब ९ सय भेडामध्ये २ सय भेडा मरेका जानकारी गरेका छन् ।
उद्दारमा कठिनाई 
घटनास्थल जुम्ला सदरमुकाम खलंगादेखि करिब १० घण्टाको पैदल दूरीमा पर्ने भएकाले उद्धारमा कठिनाइ भएको छ । स्थानीय गोल्डेन बुढाका अनुसार घाईतेका भाई विरवान रावत सहितको टोली त्यस क्षेत्रमा हिडेको छ तर कहाँ पुग्यो के भयो भन्ने कुनै जानकारी हुन सकेन ।

यता सिंजा गाउँपालिकाको माग अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले घाइते रावतको तत्काल उद्धारका लागि गृह मन्त्रालयसमक्ष हेलिकप्टरको व्यवस्थापन गर्न अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजाका किसान धन बहादुर रावत जुम्लाको धौलीगाडको पाटनमा भेडा चराउन गईरहदा चट्याङ लागेर करिब २०० भेडा मरेका र वहाँ पनि गम्भीर घाइते भएको खबरले हामी स्तब्ध भएको बताउदै उद्वार र बिपद प्रर्तिकार्यका लागि जुम्लाका प्रमुख जिल्ला अधिकारी , शस्त्र प्रहरी , आन्तरिक मामिला मन्त्रालय सुर्खेत र गृह मन्त्रालय काठमाडौ सम्म सूचना र अनुरोध गर्दा पनि हेलिकप्टर उपलब्ध हुन नसकि किसान धन बहादुर रावत नाना हाँका पाटनमा मृत्युसँग लडि रहनु भएको गुनासो पोख्नु भयो । उहाँले नेपाल सरकारले हेलिकप्टर उपलब्ध नगराउदा पनि आफ्ना नागरिकको ज्यान बचाउन पालिकाको आान्तरिक श्रोत बाट भयपनि हेलिकोप्टरको भाडा ब्यबस्थापन गर्ने आपत कालिन छलफल गरि आग्रह गरेपनि हेल्किोप्टर नआएको गुनासो पोख्नुभयो ।

यता घाईतेको उद्दारका लागि सोमवारनै पत्र लेखेपनि हेलिकोप्टर आएको छैन । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार सो क्षेत्रमा पानी परिरहेकाले हेलिकोप्टरको सम्भावना नभएको खबर आएको जानकारी दिनुभयो । उहाँका अनुसार राति नै प्रहरीको टोली त्यस क्षेत्रमा हिडेको, निरन्तर पानीले सम्पर्कमा नआएको उहाँले जनाउनु भयो । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार शशस्त्र प्रहरी र आफन्त नजिक पुगेको भन्ने खबर आएको छ तर टेलिफोन लागेपछि मात्रै घटना र घाईतेको अवस्थाका बारेमा जानकारी हुनेछ ।