गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं। गण्डकी प्रदेशका थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्‍टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको नमूना परीक्षणमा थप १६ जनामा संक्रमण पुष्‍टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार बाग्लुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले बताए ।

उनका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा। शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।