विश्वभर ११७ नेपालीको कोरोनाबाट मृत्यु, १३ हजार संक्रमित

सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन् । बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन ।
संयोजक डा। सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ ।








