कोभिड–१९ को उच्च सतर्कता-बहिरङ्ग सेवा र शल्यक्रिया बन्द


काठमाडौ : सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले कोभिड–१९ को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० श्यया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९ को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमूना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ । बैठकले कोभिड–१९ को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यकपर्ने अत्यवश्यक सामग्रीको स्वास्थ्य सेवा विभागले सूची तयार परी परिमाणसमेत उल्लेख गरी उक्त सामग्री उपलब्ध गराउन नेपालमा रहेको चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी कोभिड–१९ को शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नमूना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नमूना पठाउँदा पु¥याउनुपर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिलाई स्थानीय व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ ।

कोभिड–१९ को नमूना परीक्षण गर्न योग्य ठहरिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई तत्काल परीक्षण शुरु गर्नसमेत निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयले कोभिड–१९ शङ्का वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नमूना परीक्षण मिलाउनसमेत अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले यसअघि १०० भन्दा बढी श्यया भएका अस्पताललाई ज्वरो क्लिनिक ९फिवर क्लिनिक० सञ्चालन गर्न दिएको निर्देशनसमेत अनुगमन गर्ने भएको छ । मन्त्रालयले कुनै अस्तपालमा कोभिड–१९ को शङ्कास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नमूना सङ्कलन गर्ने तथा नमूना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाइ तोकिएको अस्पतालमा प्रेषण गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ ।

कोभिड–१९ बाट सङ्क्रमित कुनै बिरामी सघन उपचार कक्षमा रहेको अवस्थामा निजलाई डाइलासिससमेत आवश्यकपर्ने भएकाले कम्तीमा एक वटा डाइलासिस उपकरण र आवश्यक जनशक्ति वीर अस्पतालले तत्काल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई पठाउने निर्णयसमेत गरेको छ ।

स्वास्थ्यकर्मीलाई अस्पतालमा आवासको व्यवस्था

मन्त्रालयले कोभिड–१९ को उपचारमा संलग्न कर्मचारीलाई अस्पतालमा नै आवासको व्यवस्था मिलाउने निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । कोभिड–१९ को शङ्कास्पद बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा घरमा रहेका वृद्धवृद्धा तथा केटाकेटीमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीले चाहेमा निजलाई सम्बन्धित अस्पतालमा छुट्टै आवासको व्यवस्था मिलाउनेसमेत अस्पताललाई निर्देशन दिइएको हो ।

सम्बन्धित समाचार