कर्णाली राजमार्गमा पहीरो,यातायात ठप्प

अबरुद्ध कर्णाली राजमार्ग

कर्णाली राजमार्गमा पहिरो गएर बाटो अवरुद्ध भएपछि यातायात ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आइतबार बिहान पहिरोका कारण सडक नै भासिएकाले बाटो अवरुद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार उक्त बाटो तत्कालै बनाएर खोल्न सकिने अवस्था छैन ।

उनका अनुसार ४० मिटर लामो सडक पहिरोका कारण भासिएको छ । ‘यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो,’ प्रजिअ कार्कीले भने, ‘पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।’

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको थियो ।

सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हुँदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।